अर्थ

भ्रमण वर्षलाई चुनौती बन्दै सडक

वीरेन्द्रनगर – नेपालका प्रमुख पर्यटकीय क्षेत्र रारा अनि शे–फोक्सुण्डो ताल। नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा पनि पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ। यी क्षेत्र पर्यटकीय हिसाबले महŒवपूर्ण र आकर्षक छन्। नेपाल भ्रमण वर्ष २०२० पनि सुरु हुँदैछ। भ्रमण वर्ष सुरु हुँदै गर्दा कर्णालीमा सडक चुनौती बनेको छ।

यहाँका पहाडी र हिमाली क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र सडकको पहुँच बाहिर हुँदा नेपाल भ्रमण वर्ष कर्णालीका लागि सडक चुनौती बनेको हो। पर्यटकीय यात्राका लागि सडक महŒवपूर्ण मानिन्छ। त्यहीँ सडक कच्ची र साँघुरो हुँदा पर्यटन वर्षका लागि चुनौती थपिएको हो। रारा पुग्न अहिले पनि कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्छ। यता डोल्पाको शे–फोक्सुण्डो तालसम्म मोटर बाटो पुग्न सकेको छैन। यसरी यहाँका बाटाघाटा निर्माण नहुँदा कर्णालीमा पर्यटक भिœयाउन अहिले केन्द्र सरकारको तयारी अपर्याप्त देखिन्छ। भ्रमण वर्षका लागि भ्रमण वर्ष २०२० को सचिवालयबाट कर्णालीमा २५ लाख रूपैयाँ मात्र आएको छ। उक्त कार्यक्रम उद्घाटनका लागि प्रदेश सरकारले जनवरी १ तारिखमा भ्रमण वर्ष शुभारम्भका लागि १० लाख र प्रचार प्रसारका लागि १० लाख रूपैयाँ छुट्याएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ। यसले यहाँका बाटोघाटो मर्मतसम्भार गर्ने कि सरसफाइ तथा अन्य परियोजनमा खर्च गर्ने अन्योल छ।

भ्रमण वर्षका लागि सडक मुख्य चुनौतीका रूपमा रहेको नेपाल भ्रमण वर्ष २०२०, कर्णाली प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सचिवालय सदस्य प्रकाश अधिकारीले बताए। ‘अहिले पनि यहाँका सडक जीर्ण छन्,’ उनले भने, ‘हवाई सेवा सबै पर्यटकको पहुँचमा पुग्दैन।’ हवाई यात्रा गर्दा प्रमुख पर्यटकीय क्षेत्र आसपासका अन्य पर्यटकीय क्षेत्रसम्म पर्यटक पुग्न नसक्ने उनको भनाइ छ। हवाई सेवा धनाड्यको पहुँचमा मात्र हुने हुँदा अन्य पर्यटकका लागि प्रभावकारी नहुने उनले बताए।

प्रमुख पर्यटकीय क्षेत्रका बासिन्दाको अपेक्षा पनि सडक छ। नेपाल भ्रमण वर्षमा सडकको स्तरोन्नति हुने यहाँका बासिन्दाको अपेक्षा छ। ‘अहिलेसम्म कच्ची र साँघुरा सडकमा जोखिमपूर्ण यात्रा गर्दै पर्यटक रारासम्म पुग्छन्,’ मुगुका धर्मेन्द्र शाहीले भने, ‘नेपाल भ्रमण वर्ष कार्यक्रम भएकाले यहाँसम्म पर्यटक ल्याउन सरकारले बाटो स्तरोन्नति गर्छ होला।’ रारामा पर्यटक भिœयाउन सडकको स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। स्वर्गकी अप्सरा मानिने रारामा पूर्वाधार निर्माण गर्न सरकार चुकेको छ। बर्सेनि हजारौं पर्यटक यहाँ पुग्ने गरे पनि अधिकांश पर्यटक पुनः दोहोरिएर आउँदैनन्। रारासम्म पुग्ने यात्रा कष्टपूर्ण हुँदा पर्यटक दोहोरिन खोज्दैनन्।

यता डोल्पामा रहेको शे–फोक्सुण्डोसम्म कच्ची मोटर बाटो पनि पुगेको छैन। यहाँ आउने पर्यटक हवाई यात्राबाट आउँछन्। हवाई सेवा सबैको पहुँच नहुँदा अपेक्षाभन्दा कम पर्यटक यहाँ पुग्न सक्ने यसैबाट पनि आँकलन गर्न सकिन्छ। जुम्लाको सिंजा नेपाली भाषाको उद्गम थलो हुँदा पर्यटक यहाँसम्म पुग्न रुचाउँछन्। सडक जीर्ण हुँदा यहाँ पनि पर्यटक आउन हिचकिचाउँछन्। कर्णालीमा पर्यटक भिœयाउन सडकलाई प्रमुख प्राथमिकता दिन आवश्यक छ। पर्यटकलाई सहज गराए कर्णाली पर्यटक भिœयाउन सम्भव छ। यसका लागि कच्ची सडकलाई मर्मतसम्भार गर्नुपर्ने देखिन्छ। सडकमा भएका खाल्डाखुल्डी पुरे मात्र पनि पर्यटकको यात्रा सहज हुन्छ। नेपाल भ्रमण वर्षका लागि प्रदेश र स्थानीय सरकारले लगानी गर्न सकेका छैनन्।

पदमार्ग र पर्यटन मार्ग निर्माणमा ध्यान दिन जरुरी रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन शाखाकी अधिकृत अञ्जु चौधरीले जनाइन्। ‘सडक पनि अपरिहार्य हो,’ उनले भनिन्, ‘भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा पर्यटक आकर्षित गर्ने सडक निर्माण भएको भए अहिले त्यो समस्या आउने थिएन।’ नेपाल भ्रमण वर्षमा कर्णाली प्रदेश सरकारले एक लाख पर्यटक कर्णालीमा भिœयाउने लक्ष्य राखेको छ। पर्यटकको आवागमन सहज नबनाए प्रदेश सरकारलाई उत्तल लक्ष्य भेटाउन मुस्किल पर्ने देखिन्छ।

रारा ताल मुगु
राराताल नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ। यो नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो। यो ताल समुद्र सतहदेखि दुई हजार नौ सय ७२ (२,९७२) मिटर उचाइमा अवस्थित छ।

सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करिब तीन घण्टा पैदल यात्रापछि राराताल पुगिन्छ। १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ ३.२ किलोमिटर छ भने गहिराइ एक् सय ६७ मिटर छ।

प्रकृतिको उपहारको रूपमा रहेको रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवाजस्ता जन्तुका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चराचुरुंगीले समेत थप शोभा पु¥याएका छन्। यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज एक सय ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

शे–फोक्सुण्डो ताल
शे–फोकसुण्डो ताल ३६११.५ मिटर उचाइमा डोल्पा जिल्लामा अवस्थित छ। फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो। समुद्री सतहभन्दा करिब तीन हजार नौ सय (३९००) मिटर उचाइमा यो ताल छ। उक्त तालको लम्बाइ ४.८ किमि, चौडाइ १.६ किमि छ भने गहिराइ ६ सय ५० मिटर छ। काञ्जिरोवा हिमालको काखमा अवस्थित यो ताल ‘वाई’ आकारमा रहेको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागले गरेको सर्वेक्षणमा तालको अधिकतम गहिराइ एक सय ४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो। सन् २००७ सेप्टेम्बरमा फोक्सुण्डो ताललाई रामसार क्षेत्रमा सूचीकृत गरियो।

सिंजा उपत्यकाको एक दृश्य
सिञ्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित छ। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यका भूगोल अनुपम छ। तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ। ऐतिहासिक बजार रहेरपनि हवाई सम्पर्क मात्र भएको सिंजा उपत्यकामा हालै मात्रै कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकासँग कर्णाली राजमार्गमार्फत जोडिएको छ।

कर्णाली प्रदेशको केन्द्र सिंजालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ। सिंजाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रुप फेला परेका यहाँका नागरिककर्मी डिबी बुढा बताउँछन्। कर्णालीका राजाहरूको मुख्य योगदान भनेको अहिले बोलीचालीमा रहेको खस भाषाको उद्गमस्थल हो। सिंजा उपत्यकामा इसाको १३औं शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो। सिंजा उपत्यका खस मल्लहरूको राजधानी थियो। १२औं शताब्दिदेखि इसाको १४औं शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिंजामा भएको विभिन्न इतिहासमा लेखिएको पाइन्छ।

प्रकाशित: ९ मंसिर २०७६ ०२:१९ सोमबार

भ्रमण_वर्ष चुनौती