अर्थ

एकैदिन २५ हजार दर्शक, १ करोडको कारोबार

भैरहवा- भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा एकैदिन २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले बताएका छन्।

मंसिर ३ गतेदेखि सुरु भएको महोत्सवमा हिजो शनिबार पाचौं दिन मात्र २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए। साथै शनिबार मात्र महोत्सवमा १ करोडको कारोबार भएको संयोजक भण्डारीले बताए। उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा पर्यटन र कृषिलाई बिशेष प्राथमिकता दिइएको छ।

शनिबार निकै भिडभाड रहेको महोत्सवमा दर्शकहरुले महोत्सव स्थलमा निर्माण गरिएको मायाँदेवी मन्दिर र सो भित्र राखिएका विभिन्न पर्यटकीय स्थलहरु अत्यन्तै रुचाएका थिए। साथै पशुपतिनाथ मन्दिर आकृतिको सचिवालय, सेल्फि जोन, मायाँदेवी मन्दिर आकृतिको प्रवेशद्वार लगायतमा सेल्फि लिनेको निकै भिड देखिएको थियो।

विभिन्न क्षेत्रका गरी ४ सय स्टलहरु दर्ता भएको महोत्सवमा शनिबार व्यापार पनि सन्तोषजनक रहेको स्टल नं. २०० का वाइ बी सप्लायर्सका संचालक सुनिता न्यौपानेले बताइन्। जुम्लाको मार्सि चामल, विभिन्न समुदायका परिकारहरु, महिला हस्तकलाका विभिन्न समानहरु, पाल्पाली ढाकाका कपडाहरु लगायतमा दर्शकको भिड बढी रहेको स्टल संयोजक रामचन्द्र रेग्मीले बताए।

शनिबार महोत्सवको आकर्षणको रुपमा रहेका नेपाल आइडलको पहिलो सिजनमा तृतीय हुन सफल कलाकार प्रताप दास, हास्य कलाकार सुबोध गौतम, भोजपुरी कलाकार प्रमोद जख्मी, विभिन्न स्थानीय कलाकार लगायतले दर्शकलाई निकै रमाइलो प्रदान गरेका थिए।

आज आइतबार महोत्सवको आकर्षणको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गायिका कृष्णा गुरुङ, गायक अर्जुन कौशल लगायत विभिन्न स्थानीय कलाकारको प्रस्तुती हुने साँस्कृतिक संयोजक बाबुराम शर्मा खनालले बताए।

यसैबीच महोत्सवमा आज आइतबारदेखि कुस्ती प्रतियोगिता हुने मेला मुल आयोजक समिति सह संयोजक तथा खेलकुद तथा स्वयमसेवक व्यवस्थापन उपसमिति संयोजक दर्पण श्रेष्ठले जानकारी दिए।

नेपाल र भारतका पुरुष र महिला खेलाडि सहभागी हुने उक्त प्रतियोगिता तीन दिनसम्म चल्ने संयोजक श्रेष्ठले बताए। १६ गतेसम्म संचालन हुने महोत्सवमा २५ करोडको आर्थिक कारोबार तथा ३ लाख दर्शकलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ।

प्रकाशित: ८ मंसिर २०७६ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App