अर्थ

हिमालयको काठमाडौं–चाङ्सा सिधा उडान

काठमाडौं – निजी क्षेत्रको नेपाली वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले काठमाडौंबाट चीनको हुनान प्रान्तको राजधानी चाङ्सासम्म सिधा उडान सुरु गरेको छ।

नेपाल भ्रमण वर्ष २०२० सुरु हुनै लाग्दा नयाँ बजार अन्वेषण गर्दै कम्पनीले उक्त प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकलाई सेवा दिने र मुलुकको पहिचान बढाउने उद्देश्यले उडान सेवा सुरु गरेको जनाएको छ।

चाङ्सासम्मको सिधा उडान सुरु भएसँगै नेपालीहरु सहज, किफायती र सिधा सम्पर्कबाट चीनको नयाँ गन्तव्य पुग्न सक्ने कम्पनीले जनाएको छ।

प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटक आकर्षित गर्ने चाङ्सा चीनकै प्रमुख पर्यटकीय सहरमध्येको एक रहेको जनाउँदै कम्पनीले काठमाडौं–चाङ्सा उडान सुरु गरेको जनाएको छ। हिमालयको जहाज हरेक बुधबार काठमाडौंबाट चाङ्सा उडेर सोही दिन काठमाडौं फर्कने छ।

कम्पनीको जहाजले कात्तिक ४ गते बुधबार नेपाली समय अनुसार ११ः०३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्साका लागि पहिलो उडान भरेको छ। उक्त जहाज चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १७ः१९ मा अवतरण गरेको तथा सोही दिन १८ः२८ मा काठमाडौं फर्किएको कम्पनीले जानकारी दिएको छ। चाङ्साबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समय अनुसार २१ः२३ मा अवतरण भएको थियो। 

नेपाल–चीनको सञ्जाललाई अझ सुदृढ बनाउन चीनमा अझ अर्काे नयाँ रुट थप गर्न पाएकोमा कम्पनी एकदमै खुसी रहेको जनाउँदै एअरलाइन्सका प्रशासन हेर्ने उपाध्यक्ष विजय श्रेष्ठले चीनबाट हुने यात्राबाट अधिकतम लाभ लिन बेइजिङ र गुइयाङबाहेक चीनका अन्य सहरमा पनि अझ बढी सञ्जाल विस्तार गर्न आवश्यक रहेको बताए।

‘यसरी नयाँ रुट थप गरेर हाम्रो ट्रान्स–बोर्डर सञ्जाललाई गहन बनाउँदै नेपाल र चीन दुवै देशका व्यावसायिक तथा भ्रमणमा आउने यात्रुका लागि महत्वपूर्ण विकल्प उपलब्ध गराइएको छ,’ उनले भने, ‘चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा स्थानमा राखेको छ जुन पछिल्ला वर्षमा नेपालमा चिनियाँ पर्यटक बढ्नुको प्रमुख कारण हो।’

केही वर्षयता नेपाल भ्रमणमा आउने चिनियाँको संख्या निरन्तर बढिरहेको छ। गत अक्टोबरको तथ्यांक अनुसार कुल १३ हजार चार सय ८९ चिनियाँ पर्यटक नेपाल भित्रिएसँगै चीन नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा पहिलो स्थानमा रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म एक लाख ३४ हजार दुई सय ८१ चिनियाँ भित्रिएसँगै नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा चीन दोस्रो स्थानमा भए पनि सन् २०१८ को यसै अवधिको तुलनामा ९.२ प्रतिशतले वृद्धि भएको जनाएको छ।

गुइयाङ–काठमाडौं नयाँ सञ्जालले नेपालको पर्यटन अर्थतन्त्रमा ठूलो योगदान पुग्ने कम्पनीको विश्वास छ। ‘पूर्ववत बेइजिङसँगै हामीले चीनको गुइयाङ र चाङ्सा उडान सुरु गरेर चीनमा हाम्रो उपस्थितिलाई अझै व्यापक बनाएका छौं,’ कम्पनीका अध्यक्ष जोउ इन्योङले भने, ‘अब यात्रुका लागि नेपाल र चीनबीच दुईवटा थप नयाँ प्रवेशद्वार हुनेछ।’

काठमाडौं–चाङ्सा हवाई सम्पर्क स्थापनासँगै नेपालको पर्यटन अर्थतन्त्रमा ठूलो योगदान दिने र नेपाल–चीनबीचको सम्बन्धलाई सबै सम्भावित पक्षबाट बलियो बनाउने एअरलाइन्सको विश्वास छ।

एउटा विमान र एउटा गन्तव्यबाट सेवा सुरु गरेको हिमालयले तीन वर्षको अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज बनाएको र पाँचवटा गन्तव्यमा उडान भर्ने क्षमता विकास गरेको जनाएको छ। हिमालयले पहिलो उडान सन् २०१६ को मे ३१ मा कतारको राजधानी दोहाको लागि भरेको थियो। त्यसपछि विभिन्न एसियाली मुलुकमा सञ्जाल विस्तार गरेको हो। कम्पनीले यसै वर्ष सन् २०१९ मा युएईको आबुधाबी, बंगलादेशको ढाका र चीनको बेइजिङसम्म उडान सुरु गरेको छ। अहिले हिमालय एअरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका र बेइजिङमा उडान गरिरहेको छ। आठ बिजनेस क्लास र एक सय ५० इकोनोमी क्लास सिट भएका ए३२०–२१४ सिरिजका तीनवटा न्यारो–बडी जहाजमार्फत कम्पनीले सेवा दिइरहेको छ।

प्रकाशित: ६ मंसिर २०७६ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App