अर्थ

मंगलवार पनि खुल्यो गोरखा संग्राहालय

गोरखा संग्राहालयमा घुम्दै विद्यार्थी। तस्विरः नागरिक

गोरखा– पहिलो पटक गोरखा संग्राहालय मंगलवार पनि खुलेको छ। संग्राहालय खुल्दा एकै दिन पाँच सय २३ जनाले अवलोकन गरेका छन्।

यसअघि मंगलबार संग्राहालय बन्द हुँदै आएको थियो। शैक्षिक भ्रमणको सिजन भएकाले हप्ताका सातै दिन खोलिएको संग्रालय प्रसाशनले जनाएको छ।

‘मंसिर, पुस र माघ तीन महिना शैक्षिक भ्रमणको मुख्य सिजन भएकाले हामीले सातै दिन खोल्ने निर्णय गरेका छौँ’ गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले भने। यस अघि शनिवार खुल्ने र मंगलवार एक दिने बन्द हुँदै आएको थियो।

शैक्षिक भ्रमणको मुख्य सिजनमा मंगलवार गोरखा घुम्न आएकाहरु संग्राहालय हेर्न नपाउँदा खिन्न भएर फर्कन्थे। नेपाल एकिकरणको इतिहास झल्कने पुरातत्विक, ऐतिहासिक महत्वको संग्राहालय मंगलवार बन्द हुँदा त्यसको असर गोरखा आएका विद्यार्थी र पर्यटकलाई पर्दै आएको थियो। 

मंगलबार मात्रै आठ हजार ६५ रुपैयाँ राजश्व जम्मा भएको गोरखा संग्राहालयका सूचना अधिकारी सुनिता भँडेलले बताईन। संग्रहालय अवलोकन गर्न बिद्यार्थीलाई १०, नेपाली पर्यटकलाई २५, सार्क राष्ट्रका नागरिकलाइ ५० र विदेशी पर्यटकलाई १०० रुपैया प्रवेश शुल्क लिँदै आएको छ। 

मंगलवार संग्राहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि मात्रै खुल्ला हुनेछ भने कार्यालयको कामकाज भने बन्द रहनेछ। 
 
 

प्रकाशित: ४ मंसिर २०७६ ११:२८ बुधबार

गोरखा_संग्राहालय मंगलवार