अर्थ

पाँच व्यापारीविरुद्ध ३८ करोडको मुद्दा

काठमाडौं – राजस्व अनुसन्धान विभागले ३८ करोड ३० लाख रुपैयाँ राजस्व छली गरेको अभियोग लगाउँदै पाँचवटा व्यापारिक फर्म र तिनका प्रोप्राइटरविरुद्ध मुद्दा दायर गरेको छ।

मूल्य अभिवृद्धिकर (भ्याट) को नक्कली कारोबार गरेको र अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गरेको आरोपमा विभागले आइतबार झापा र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

विभागका अनुसार झापाको गुट्खाजन्य वस्तु उत्पादन गर्ने साकम्बरी प्रोडक्टविरुद्ध अन्तःशुल्क स्टिकरमा राजस्व छली गरेको आरोपमा ३६ करोड ५६ लाख रुपैयाँ बिगो कायम गरी अदालतमा मुद्दा दायर गरिएको हो।

विभागका अनुसार अन्तःशुल्क छली गर्ने साकम्बरीका प्रोप्राइटर मुकेश शर्मासहित ६ जनाविरुद्ध झापा जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरिएको हो।

विभागका अनुसार झापाको मेची नगरपालिका १४ मा रहेको साकम्बरीले गुट्खाजन्य वस्तु उत्पादन र बिक्री गर्दा अन्तःशुल्क स्टिकर नलगाई राजस्व छली गरेको फेला परेको हो।

साकम्बरीका प्रोप्राइटर मुकेशले रामकृष्ण शर्मासहितका अन्य ६ जना व्यापारीसँग मिलेर अन्तः शुल्क छलेको विभागको दाबी छ। विभागले गरेको  अनुसन्धानले साकम्बरीले उत्पादन गरेको वस्तुलाई योजनावद्ध रुपमा माधव इन्टरप्राइजेज, एसएस इन्टरप्राइजेज लगायतले मिलेर अन्तःशुल्कको स्टिकर नलगाई बिक्री–वितरण गरेको देखिएको हो।

यस्तै, यी तीनवटा कम्पनीले मिलेमतोमा बिलबिजक जारी नगर्ने, अन्तःशुल्कको स्टिकर नलगाउने, एकले अर्कोको बिलबिजक प्रयोग गर्ने, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क र आयकर पनि कानुन अनुसार राज्यलाई नबुझाउने गरेको देखिएको हो।

विभागले कानुनअनुसार माल वस्तु उत्पादन र बिक्री नगर्ने व्यवसायीहरु मुकेशसहित रामकृष्ण शर्मा, विष्णुप्रसाद खरेल, सदन सिंह, सीताराम शर्मा र सवारीधनी आशिष शर्माविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।

झापा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा ३६ करोड ५५ लाख ६३ हजार तीन सय ३७ रुपैयाँ बिगो कायम गरी यसको दोब्बरसम्म जरिवाना लिने र तीन वर्षसम्म कैद सजाय माग गरिएको छ।

अदालतमा दायर मुद्दामा व्यापारीहरुले अन्तःशुल्क मात्र ३१ करोडको छली गरेको आरोप लगाइएको छ। यस्तै भ्याट दुई करोड ७९ लाख ९८ हजार र आयकर दुई करोड ३८ लाख ८३ हजार रुपैयाँ छली भएको दाबी गरिएको छ। यो कारोबारमा स्वास्थ्य जोखिम कर पनि ३१ लाख ४१ हजार रुपैयाँ छली भएको आरोप छ।

विभागले भ्याटको झुटो तथा नक्कली बिलबिजक प्रयोग गर्ने दुईवटा फर्मसहित तीनजनाविरुद्ध एक करोड ७४ लाख २१ हजार बिगो कायम गरी यसको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको माग राखी मुद्दा दायर गरेको छ।

विभागका अनुसार दुईवटा फर्ममध्ये काठमाडौंमा रहेको अम्बेल इन्टरप्राइजेजका प्रोप्राइटर विनिता दुवाडीलाई राजस्व चुहावट गरेको अभियोगमा एक करोड २८ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी आइतबार मुद्दा दायर गरिएको हो। दुवाडीलाई विगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय माग गरिएको छ।

विभागका अनुसार दुवाडीको फर्मले वस्तु तथा सेवा खरिद नगरी झुटो तथा नक्कली भ्याट बिल खरिद गरेर राजस्व छली गरेको फेला परेको थियो। नक्कली भ्याटको प्रयोगले आयकरसमेत छली भएको थियो।

यस्तै, काठमाडौं महानगरपालिका ३२ मा रहेको सुसञ्जित इन्टरप्राइजेजका प्रोप्राइटर सरस्वती गौतमले नक्कली भ्याट बिल प्रयोग गरेर ४५ लाख ४५ हजार रुपैयाँ राजस्व छली गरेको फेला परेको छ। विभागले गौतमलाई ४५ लाख ४५ हजार बिगो कायम गरी त्यसको दोब्बर जरिवाना र तीन वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरेको हो।

प्रकाशित: ३ मंसिर २०७६ ०३:४२ मंगलबार

भ्याट_र_अन्तःशुल्क नक्कली कारोबार