अर्थ

अत्याधिक ऋणको चापबाट मुक्त हुन करः अर्थमन्त्री खतिवडा

फाइल फोटो

काठमाडौ– अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताएका छन्।

उनले मुलुकलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठयारो भएको स्वीकार गरेका छन्। यद्यपी उद्योग व्यवसायका लागि भने छिट्टै सहज वातावरण बन्ने दाबी मन्त्री खतिवडाको छ। 

मुलुकलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धि अलोकप्रिय नीति लिनु परेको पनि उनले पटक–पटक दोहोर्याए। 

‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौं,’ कर दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक  कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, ‘अत्याधिक ऋणको चापले मुलुकलाई संकटमा फसाउने हुनाले आफूको मुलुकको दीर्घकालीन हितका लागि करसम्बन्धि अलोकप्रिय निर्णय लिनु परेको हो।’

उनले मुलुकको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने उल्लेख गर्दै त्यसलाई सल्टयाउँदै लैजाने बाटोबाट सरकार अघि बढिरहेको पनि बताए। 

मुलुकको अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एसियामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रुपमा पहिचान बनाउन सफल भएको पनि मन्त्री खतिवडाले जानकारी गराए।

 

प्रकाशित: १ मंसिर २०७६ ०७:५९ आइतबार

युवराज_खतिवडा करः