अर्थ

असारसम्ममा मेलम्ची पानी : संसदीय समिति

काठमाडौं – संसद्को विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्दै आउँदो असारसम्म त्यहाँको पानी उपत्यकामा खसाल्न ठेकेदार र आयोजनालाई निर्देशन दिएको छ।

समिति अध्यक्ष कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको संसदीय अनुगमन टोलीले अहिलेकै गतिमा काम भए आगामी असारसम्म मेलम्चीको पानी उपत्यका आउने सम्भावना रहेको जानकारी दिएको हो।

समितिले गत मंगलबार र बुधबार स्थलगत अनुगमनका क्रममा मेलम्ची उपत्यकाबासीको बहुप्रतीक्षित आयोजना भएकाले जतिसक्दो चाँडो पानी उपत्यका खसाल्न आयोजना र ठेकेदार कम्पनीलाई अनुरोध गरेको अध्यक्ष खड्काले जानकारी दिइन्। ‘अनुगमनको क्रममा मेलम्चीको काम तीव्र गतिमा भएको पाइएकोले समय सीमाभित्रै निर्माण सम्पन्न हुनेमा आशावादी छौं,’ उनले भनिन्।

सांसद बिना श्रेष्ठ, इन्द्र शर्मा, यज्ञराज सुनुवार, शेरबहादुर तामाङ लगायत सम्मिलित टोलीले मेलम्चीको हेडवक्र्स, ग्याल्थुम अडिट, सिन्धु अडिट लगायतको स्थलगत अनुगमन गरेको खड्काको भनाइ छ।

अध्यक्ष खड्काले यो आर्थिक वर्षभित्रै मेलम्ची पानी उपत्यका आउनेमा आशावादी भएको बताइन्। ‘कामको गति हेर्दा आगामी आर्थिक वर्षभित्रै मेलम्चीको पानी आउने देखिन्छ,’ उनले भनिन्, ‘स्थायी हेडवक्र्स निर्माण गर्न केही समय लाग्ने देखिन्छ। त्यसैले सम्पूर्ण संरचना तयार भएको खण्डमा अस्थायी कोफर ड्याममार्फत पनि पानी ल्याउन सकिने गरी काम गर्नुपर्ने देखिन्छ।’

समिति अध्यक्ष खड्काले मेलम्ची आयोजना प्रभावितका समस्याबारे पनि सरकार गम्भीर हुन जरुरी रहेको बताइन। ‘मेलम्ची खानेपानी आयोजना प्रभावितका जल्दोबल्दो मागलाई सम्बोधन गर्नुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘अहिले प्रभावितले खानेपानीको रोयल्टी, सडक, पुल लगायत संरचना मर्मतसम्भार गर्नुपर्ने माग गरेका छन्। ती मागलाई सरकारले गम्भीर भएर पूरा गर्नुपर्ने देखिन्छ।’ 

मेलम्चीका आयोजना प्रमुख तिरेश खत्रीले ठेकेदार कम्पनी सिनो हाइड्रोले गत आइतबारदेखि काम तीव्र गतिमा थालेको बताए। ‘आइतबारदेखि ठेकेदार कम्पनीले आफ्नो काम सुरु गरेको छ,’ उनले भने, ‘सिएमसीले अलपत्र छाडेर गएका संरचना हटाउँदै नयाँ ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरिरहेको छ।’

प्रमुख खत्रीले ठेकेदार कम्पनीले सुरुङभित्रको कमजोर भागमा रक डायल गर्ने काम गरिरहेको बताए। ‘कमजोर चट्टान भएको ठाउँमा रक ड्रिलिङ गरेर बलियो बनाउने काम भइरहेको छ,’ उनले भने, ‘सुरुङभित्र २५ हजारभन्दा धेरै रक डायल गर्नुपर्नेछ।’

खत्रीका अनुसार ठेकेदार कम्पनीलाई चालु आर्थिक वर्षभित्रै मेलम्चीको पानी उपत्यका ल्याउन निर्देशन दिएको बताए। ‘सरकारले नीति तथा कार्यक्रममा एक वर्षभित्रै मेलम्चीको पानी उपत्यका ल्याउने उल्लेख छ। सोही अनुसार मेलम्चीको पानी सुन्दरीजल झार्ने तयारी गरेका छौं,’ उनले भने, ‘ठेकेदार कम्पनीले पनि अस्थायी हेडवक्र्समार्फत चालु आवको असारभित्रै ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।’

सरकारले मेलम्ची आयोजनाको काम छिटो सके ठेकेदार कम्पनीलाई पुरस्कार दिने घोषणा गरेको छ। ‘तोकिएको समयभन्दा छिटो सके ठेकेदार कम्पनीले दैनिक ०.१५ प्रतिशतका दरले १२ लाख ७५ हजार प्रोत्साहन पुरस्कार पाउनेछ,’ उनले भने, ‘तोकेको समयमा निर्माण सम्पन्न नगरे सोही अनुसार जरिवाना तिर्नुपर्नेछ।’

आयोजनाका अनुसार सुरुङ निर्माणका लागि ८५ करोड एक लाख ९४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो। ठेकेदार कम्पनीले तोकिएको समयभन्दा छिट्टै निर्माण सम्पन्न गरेर प्रोत्साहन पुरस्कार लिने खत्रीले जानकारी गराए।

मेलम्चीको सुरुङ र हेडवक्र्स निर्माण दुवैको ठेक्का सिनो हाइड्रोले पाएको छ। हेडवक्र्स निर्माण भने १५ महिनाभित्र सम्पन्न हुने गरी ठेक्का सम्झौता गर्न लागिएको छ। मेलम्ची आयोजनाको करिब ९७ प्रतिशत काम सम्पन्न भए पनि गत पुस २ गते साबिकको ठेकेदार सिएमसी छाडेर हिँडेसँगै अलपत्र परेको थियो।

आयोजनाका अनुसार सात सय मिटर सुरुङ ढलान गर्न बाँकी छ। हेडवक्र्स, भेन्टिलेटर साफ्ट, स्कोडा मेसिनलगायत प्राविधिक काम पनि बाँकी छ। बाँकी काम सम्पन्न गर्न साढे दुई अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान भएकोमा सिनो हाइड्रोले त्योभन्दा ३० प्रतिशत कम कबोल गरेर ठेक्का सकारेको हो। सिनो हाइड्रोले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजना लगायतको काम पनि गरिरहेको छ।

प्रकाशित: २२ कार्तिक २०७६ ०४:४२ शुक्रबार

मेलम्ची_खानेपानी_आयोजना