अर्थ

बैंकहरु पनि सामाजिक सुरक्षा योजनामा समावेश हुने

काठमाडौं– सरकारले ल्याएको सामाजिक सुरक्षा योजनामा बैंकहरु पनि  समावेश हुने भएका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपाल बैंकर्स संघका पदाधिकारीबीच बिहीबार मन्त्रालयमा भएको छलफलमा बैंकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुन तयार भएका हुन्। 

छलफलमा मन्त्री विष्टले थप गरिएको समयभित्रै सबै बैंक तथा बैंकहरुमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा सुचीकृत हुन आग्रह गरेका थिए। 

उनले संविधानले गरेको व्यवस्था र सरकारले संसदबाट पारित गरेको कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्र समयसीमाभित्रै सहज सहभागी हुने अपेक्षासमेत गरे।  

सामाजिक सुरक्षा कोष नेपालमा नौलो कार्यक्रम भएकाले बुझाइमा अस्पष्टता भएको हुनसक्ने भन्दै मन्त्री विष्टले आम श्रमिकको जीवनलाई सुरक्षा दिने ऐतिहासिक कार्यक्रम भएको स्पष्ट पारे। 

‘कोषका सन्दर्भमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्न सरकार सधै तयार छ’, उनले भने, ‘विभिन्न क्षेत्रबाट आएका गुनासालाई सम्बोधन गर्दै कार्यक्रमलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउँदै लगिने छ।’

जवाफमा बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहितकोे पदाधिकारी टोलीले सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको थियो। कोषका विभिन्न स्किमहरु र तयार हुँदै गरेको लगानी कार्यविधिका बारेमासमेत जिज्ञासा पदाधिकारीले राखेका थिए। सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली तथा कोषका सल्लाहकार रमेश वडालले उक्त कार्यक्रमबारे बैंकर्स संघका पदाधिकारीलाई स्पष्ट पारेका थिए। 

प्रकाशित: २१ कार्तिक २०७६ ११:३१ बिहीबार

सामाजिक_सुरक्षा_कोष बैंक श्रम_मन्त्रालय