अर्थ

उर्जामन्त्रीद्वारा भेरी–बबई सुरुङमार्गको निरीक्षण

सुर्खेत- नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिविएम) मार्फत निर्माण सम्पन्न गरिएको राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङमार्गको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बुधबार अनुगमन गरेका छन्।

१२.२ किलोमिटर लामो सुरुङमार्ग उनले ‘मोनोरोल’मार्फत अनुगमन गरे। भेरीगंगा नगरपालिकाको हात्तीखालबाट मोनोरेल चढेका मन्त्री पुन एक घण्टा लगाएर चिप्ले पुगेका थिए। हात्तीखाल सुरुङमार्गको निकास हो भने, चिप्ले प्रवेशद्धार हो। सुरुङमार्गको बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ब्रेक–थ्रु’ गरेका थिए।

२०७४ कात्तिक मसान्तदेखि टिबिएममार्फत निर्माण थालिएको सुरुङ सम्झौता अवधि (२०७६ चैत १५ गते) भन्दा झण्डै एक वर्षअघि सम्पन्न भएको थियो। हात्तीखालबाट मोनोरेल चढेर चिप्ले आएका मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजना भएकाले निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निगरानीमा राष्ट्रिय गौरवका योजनाहरु निर्माण भइराखेकाले बजेट र जनशक्तिको अभाव हुन नदिने दावी गरे।

उनले बाँध, विद्युत गृहलगायतका संरचनाहरु सँगसँगै निर्माण गर्ने प्रक्रिया सुरु गरिएको बताए। उर्जामन्त्री पुनले जनताको जलविद्युत आयोजना अन्तर्गत छुट्टै कम्पनी दर्ता गरेर हात्तीखालमा ४८ मेगावाट विद्युत उत्पादन गरिने बताए।

 

 

प्रकाशित: २० कार्तिक २०७६ ०७:३२ बुधबार

सुरुङ भेरी_बबई निरीक्षण