अर्थ

धार्के–सीतापाइलाकाे ठेकेदार सम्पर्कविहीन, निर्माण ठप्प

निर्माणाधीन धार्के–सीतापाइला सडकखण्ड। तस्बिर : सरिता/नागरिक

धादिङ – नौबिसे–नागढुंगा सडकखण्डको वैकल्पिक मार्ग धार्के–सीतापाइला सडक निर्माण तथा स्तरोन्नति कार्य सुस्त भएको छ। अत्यधिक जामछल्न निर्माण थालिएको सडकखण्ड मुख्य ठेकेदार सम्पर्कविहीन भएपछि अहिले निर्माण कार्य नै ठप्प भएको छ। दुई वर्षअघि निर्माण सुरु गरिएको सडकको ८० प्रतिशत काम सकिएको दाबी गरिएतापनि आधा निर्माण सकिएको छैन।

नौबिसेदेखि नागढुंगासम्मको सडक साँघुरो, बढी मोड, उकालो र जीर्ण भएका कारण दैनिकजसो सवारी जाम पर्ने र चाडपर्वको बेला अत्यधिक सवारी चाप हुने भएकाले वैकल्पिक मार्गको खोजी गरिएको थियो। त्यही अनुरुप जिल्लाको धुनीबेसी नगरपालिकाको धार्के बजारस्थित पृथ्वी राजमार्गबाट ठूलोखोला हुँदै भीमढुंगा–सीतापाइला जोडिने २३ किलोमिटर सडक निर्माण सुरु गरिएको थियो। निर्माणको जिम्मा ३ नम्बर प्रदेश सरकारबाट कोसी न्यौपाने निर्माण कम्पनीलाई दिएको थियो। अहिले उक्त कम्पनी सडक विभागको सम्पर्कमा छैन।

आवतजावत गर्ने हजारौं यात्रुलाई सास्ती दिने नौबिसे–नागढुंगा–कलंकी सडकको सवारी जाम सधैंलाई हटाउने विकल्पको रुपमा धार्के–ठूलोखोला–भीमढुंगा–सीतापाइला सडक स्तरोन्नति थालिएको थियो। तर, स्तरोन्नति गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी नै सम्पर्कविहीन भएपछि स्तरोन्नतिको काम ठप्प भएको साइड इन्जिनियर बोधप्रसाद भण्डारीले बताए। ‘गत असार मसान्तदेखि ठेकेदार कम्पनीले केही काम गरेको छैन,’ उनले भने, ‘सुरु गरिएको काम पनि लथालिंग भएको छ।’

राजधानी भित्रने र बाहिरिने सवारी साधनको चापका कारण भित्रुवन राजपथको नौबिसे–नागढुंगा खण्डमा चाडपर्वको बेला मात्रै नभई अरु समयपनि जाम हुने गर्छ। साँघुरो बाटोमा लामा कन्टेनर र मालबाहक गाडीलाई मोड नपुगेरै जाम हुन्छ।सवारी साधन गुडिरहैकै बेला एकछिन रोकेर मर्मतसम्भार गर्दा मर्मत गरिएको सडक बलियो हुँदैन। यो अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक सडकको व्यवस्था गर्न धार्के–सीतापाइला सडकको स्तरोन्नति गर्ने भनेर प्रदेश सरकारको बजेटमा सुरु गरिएको काम कछुवा गतिमा छ।

गत असार मसान्तदेखि ठेकेदार कम्पनीका कोही प्रतिनिधि पनि सम्पर्कमा नरहेको प्रादेशिक डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले बताए। ‘जसले ठेक्का पाएको हो उसले पनि अर्कै व्यक्तिलाई ठेक्का दिएको रहेछ,’उनले भने, ‘काम अलपत्र छाडेर हिँडेको ठेकेदार कम्पनी सम्पर्कमै छैन।’ अहिले प्रक्रिया अनुसार ठेकेदारको खोजी गरिरहेको रसम्पर्कमा नआए कानुनी कारवाही प्रक्रिया अघि बढाइने उनले बताए।

निर्माण सम्पन्न गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले कमिसन खाएर अर्कै व्यक्तिलाई ठेक्का बेचेपछि झनै समस्या आएको हो। उक्त सडकखण्डको धार्केदेखि ठूलोखोलासम्मको १३ किलोमिटर दुरीमा नाली बनाउने, सडक चौडा गर्ने, ह्युमपाइप गाड्ने र कजबे बनाउने गरी करिब १२ करोड रुपैयाँमा ठेक्का लागेको थियो। मुख्य ठेकेदार कम्पनी स्थानीय ठेकेदार सुरेश लामालाई जिम्मेवारी दिएर सम्पर्कविहीन भएको हो। हाल सडकको आधा काम पनि सकिएको छैन।

त्रिभुवन राजपथको धार्के कलंकी खण्ड २५ किलोमिटर छ। धार्के–सीतापाइला २३ किलोमिटर छ। यो सडक धार्केदेखि धादिङ ठूलोखोलासम्म १३ किलोमिटर र त्यसपछि भीमढुंगा हुँदै काठमाडौं सीतापाइलासम्म १० किलोमिटर गरी दुई भागमा निर्माणाधीन छ। १२ मिटर चौडा गरी चालु आर्थिक वर्षमा ग्राभेल गर्न निर्माण कम्पनीलाई जिम्मा दिइसके पनि निर्माण कम्पनीले काममा लापरवाही गरेको छ।

पहिलो चरणको निर्माण सकिएपछि ग्राभेल हालेर स्तरोन्नति गर्ने जिम्मा पाँच करोड रुपैयाँमा धादिङ जिल्लाकै ठेकेदार शिवराम भण्डारीले लिएका छन्। उनले ठूलो खोलासम्मको १३ किलोमिटर निर्माण गर्नेछन्। तर पहिलो चरणकै काम नसकिँदा दोस्रो चरणको काम थाल्न नसकिएको उनले बताए। ‘पहिले ठेकेदारले काम नसकी मैले गर्न मिल्दैन,’ उनले भने, ‘मेरो जिम्मामा आउनेबित्तिकै म काम सुरु गरिहाल्छु।’

नेपालका ६८ भन्दा बढी जिल्ला लगायत भारतवाट आउने यात्रु र भारत हुँदै तेस्रोमुलुकबाट आयात गरिने व्यापारिक सामग्री राजधानी भित्रिने एकमात्र बाटो नौबिसे नागढुंगा नै हो। सबैभन्दा पुरानो सडक त्रिभुवन राजपथको नौबिसे–नागढुंगा खण्ड साँधुरो र धेरै घुम्ती भएका कारण पनि स्तरोन्नति गर्नुपर्ने अवस्था छ। निर्माण सुरु गर्दाका दिनमा बढीमा हजारसम्म सवारी साधन गुड्न सक्ने गरी बनाइएको उक्त सडकमा अचेल दैनिक१० हजार भन्दा बढी सवारी साधन ओहोरदोहोर गर्छन्।

यो सडक तीन वर्षभित्रै स्तरोन्नति गरी कालोपत्रे गर्ने गरी सरकारले वैकल्पिक सडकका रूपमा काम अगाडि बढाएको थियो। सुरुमा केन्द्र सरकार आफैंले अघि बढाएपनि अहिले प्रदेश सरकारलाई जिम्मा दिइएको छ। प्रत्येक वर्षको दसैं, तिहार लगायत चाडपर्व आउनुपूर्व नौबिसे–नागढुंगा खण्डमा सवारी जामका कारण यात्रुले हैरानी बेहोर्दै आइरहेका छन्।

प्रकाशित: २० कार्तिक २०७६ ०३:५७ बुधबार

ठेकेदार लापरवाही पूर्वाधार_निर्माण