अर्थ

कालीगण्डकी लोकमार्ग सुस्त

निर्माणाधीन कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको बिहादी खण्ड। तस्बिर : नागरिक

पर्वत – निर्माण व्यवसायीको लापरवाहीका कारण कालीगण्डकी लोकमार्ग निर्माण निकै सुस्त बनेको छ। यही कारण सवारी साधन सञ्चालन गर्ने पर्वतबासीको वर्षौंदेखिको चाहना अधुरै छ।

निर्माणको ठेक्का लिएका व्यवसायीको ढिलासुस्ती, सरकारी निकायको उदासीनता र राजनीतिक रुपमा दबाब पुग्न नसक्दा कालीगण्डकी लोकमार्गले गति नलिएको हो। पर्वतको विकासमा मेरुदण्ड मानिएको यो लोकमार्गको पर्वत खण्डमा दुई वर्षअघि नै ट्र्याक खोलिसक्नुपर्ने थियो।

स्याङ्जाको मिर्मीदेखि पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगासम्मको ५५ किलोमिटर सडक खण्डको काम समयमा पूरा नभएको हो। २२ असार २०७३ मा सम्झौता हुँदा ट्र्याक खोल्ने काम २०७५ जेठ २१ मा सम्पन्न गर्ने भनिएको थियो। ट्र्याक खोल्ने जिम्मा सूर्य कन्सट्रक्सनले लिएको थियो। कम्पनी काम बीचैमा छोडेर सम्पर्कविहीन भएको छ।

राष्ट्रिय गौरवको आयोजनाबाट केही वर्ष क्षेत्रीय सडकमा झारिएको पर्वत खण्डलाई पछिल्लो समय गौरवकै आयोजनाभित्र समेटिएको छ। ट्र्याक खोल्ने मात्र होइन, पर्वत खण्डअन्तर्गत सेतीबेणीस्थित सेतीखोलामाथिको पक्की पुल र मोदीखोलामाथिको पुल वर्षौंदेखि ठेकेदार कम्पनीले अलपत्र बनाएका छन्। 

सूर्य कन्सट्रक्सनले जिम्मा लिएको १४ किलोमिटर सडक सबैभन्दा धेरै बिग्रिएको कालीगण्डकी लोकमार्ग कार्यालयले जनाएको छ। फलेबास नगरपालिकाको लमायदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको १४ किलोमिटर ठेक्का यही निर्माण कम्पनीले लिएको थियो।

पाल्पास्थित लोकमार्गको कार्यालयले यो कम्पनीलाई जरिवाना रकमसहित समय थप गरेर काम गर्न भनेको छ। निर्माण कम्पनीले काम थालेको छैन। थपेको समय पनि आगामी मंसिरमा सकिँदैछ।

लोकमार्ग कार्यालय प्रमुख नरेन्द्र सुबेदीले जरिवाना लिएर निर्माण कम्पनीलाई थप समय दिएको जानकारी दिए। अबको मितिमा पनि काम नभए नयाँ प्रक्रिया सुरु गर्ने सुबेदीले बताए। लोकमार्गको यही खण्ड बढी जोखिमपूर्ण भएर ट्र्याक खोल्ने काम सर्दै आएको उनको भनाइ छ। यो भागको १४ किलोमिटर ट्र्याक, नाली र आवश्यक अरु संरचना निर्माणका लागि कम्पनीले नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ रुपैयाँमा ठेक्का लिएको हो।

यो १४ किलोमिटर खण्डको पूरै भागमध्ये फलेबास ढिकदेखि मोदीबेणीसम्म ट्र्याक खुलेको छ। तर यो भागमा सजिलो गरी हिँडन सक्ने अवस्था छैन। फलेबास नगरपालिका–४, मुडिकुवाका थानेश्वर भुसालले लोकमार्गको ट्र्याक खोलेको सडकबाट मोदीबेणीमा दाहसंस्कारका लागि शव लैजान कठिन हुने गरेको जानकारी दिए। ट्र्याक खोलेको ठाउँमा बर्खामा सबै सडक भत्किएपछि पैदल हिँड्न पनि समस्या भएको हो।

मोदीबेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक अझै खुलेको छैन्। ठेकेदारले अहिलेसम्म ३० प्रतिशतभन्दा बढी काम नगरेको आयोजना कार्यालयले जानकारी दिएको छ। यो कम्पनीले काम सुरु नगरेपछि २०७६  जेठ ४ मा १० प्रतिशत जरिवानासहित कार्यालयले म्याद थप गरेको थियो। कार्यालयका अनुसार कन्सट्रक्सन कम्पनीले प्रतिदिन ४५ हजार नौ सय रुपैयाँका दरले जरिवाना तिर्नुपर्छ। म्याद थप गरेको साढे पाँच महिना पुग्न लाग्दा पनि काम सञ्चालन नगरेपछि सार्वजनिक सूचना निकालेर ठेकेदारको खोजी गर्ने आयोजनाको तयारी छ।

‘हामीले धेरै ताकेता गरेको हो,’ साइड इन्जिनियर अर्जुन नेपालीले भने, ‘सम्पर्कमा नआएपछि अब कानुनी कारवाहीको प्रक्रियामा जाने तयारी गरेका छौं।’ ठेकेदार कम्पनीले अहिलेसम्म झण्डै ६ करोड भुक्तानी लिइसकेको छ। तीन करोड १७ लाख भुक्तानी पाउन बाँकी छ।

कन्सट्रक्सनले भने विभिन्न समस्याका कारण केही समय ढिलाइ भएको बताएको छ। पर्वतमा ७६ किलोमिटर दुरी समेट्ने यो सडकले बिहादी, फलेबास, जलजला र कुश्मा समेट्नेछ। लोकमार्ग बनेपछि कृषि उत्पादनले बजार पाउने अपेक्षा पर्वतवासीको छ।

प्रकाशित: २० कार्तिक २०७६ ०३:४१ बुधबार

निर्माण_व्यवसायी लापरवाही