अर्थ

राजस्व छल्ने दोङगहवा कम्पनीविरुद्ध मुद्दा

काठमाडौं – राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल खरिद गरेर राजस्व चुहावट गरेको आरोपमा नेपाल दोङगहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले राजस्व छलेको कसूरमा कम्पनीका सञ्चालकहरु याङ लिन, से श्याङजुन, वे देगुई र सुविन श्रेष्ठलाई तीन वर्षसम्म कैद सजाय, १३ करोड १३ लाख रुपैयाँ बिगोको दोब्बर जरिवानासहित माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गराएको हो।

विभागका अनुसार उक्त कम्पनीले वस्तु तथा सेवा खरिद नगरी नक्कली भ्याट बिल खरिद गरेर भ्याट र आयकर छलेको फेला परेको हो। विभागको अनुसन्धानले कम्पनीले चार करोड २१ लाख आठ हजार भ्याट, सात करोड ७७ लाख ७१ हजार आयकर र लाभांश कर एक करोड १४ लाख ३१ हजार रुपैयाँ छलेको पाइएको छ। कम्पनीले कुल १३ करोड १३ लाख ११ हजार रुपैयाँ राजस्व चुहावट गरेको देखिएको विभागको भनाइ छ।

प्रकाशित: २० कार्तिक २०७६ ०३:३८ बुधबार

राजस्व_चुहावट