अर्थ

विकृति रोक्न मर्जर अनिवार्य

रामचन्द्र जोशी, प्रमुख कार्यकारी अधिकृत, छिमेक लघुवित्त वित्तीय संस्था।

सन् १९७० को मध्यतिर बंगलादेशका प्रोफेसर मुहमद युनुसले सुरु गरेको लघुवित्त कार्यक्रम अहिले विश्वभरी फैलिएको छ। नेपालमा लघुवित्त कार्यक्रमको सुरुवात करिब तीन दशकअघि भएको छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी बताउँछन्। मुलुकको लघुवित्त क्षेत्रलाई अढाई दशक नजिकबाट नियालेका जोशी नेपाल लघुवित्त बैंकर संघका पूर्वअध्यक्ष पनि हुन्। लघुवित्तको वर्तमान अवस्था, मर्जर प्रक्रिया, चुक्ता पुँजी, लघुवित्तको चुनौती र फाइदालगायत छिमेक लघुवित्तका विषयमा नागरिक दैनिकका लागि जिपी भण्डारीले गरेको कुराकानीको मुख्य अंश :

लघुवित्त क्षेत्रको वर्तमान अवस्था कस्तो छ ?
वर्तमानमा लघुवित्त संस्थाको अवस्था सामान्य देखिए पनि दीर्घकालमा समस्या आउने निश्चित छ। लघुवित्त संस्थाबीचमै अस्वस्थ प्रतिपस्र्धा छ। गरिबी तथा पिछडिएको वर्गलाई बिनाधितो कर्जा दिने उद्देश्य भए पनि च्याउजस्तै उम्रिएका संस्था नाफामुखी भएकाले लघुवित्तको मर्मविपरीत काम भइरहेको छ।

छिमेक लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्था कस्तो छ ?
हाल संस्थाको वित्तीय अवस्था राम्रो छ। चुक्ता पुँजी एक अर्ब १८ करोड छ। आगामी वार्षिक साधारण सभापछि ४५ प्रतिशत नगद लाभांश र सेयर वितरण गरी डेढ अर्ब पु-याउने लक्ष्य लिएका छौं। 

हालसम्म ६७ जिल्लामा एक सय ३६ वटा शाखा कार्यालयमार्फत लघुवित्त कार्यक्रम दिँदै आएका छौं। अति दुर्गम ठाउँमा ६५ वटा डिजिटल प्वाइन्ट सञ्चालन गरेका छौं।

संस्थामा तीन लाख ६७ हजार दुई सय ६८ जना सदस्य आवद्ध छन्। दुई लाख ५५ हजार ४२ जनाले कर्जा लिएका छन्। १९ अर्ब ६५ करोड कर्जा वितरण गरेको संस्थाले १५ अर्ब ५८ करोड बचत रुपैयाँ बचत गरेको छ। संस्थामा हाल एक हजार एक सय ४६ कर्मचारी कार्यरत छन्। बैंकको खराब कर्जा ०.०३ रहेको छ।

लघुवित्त संस्थावाट कर्जा लिन के गर्नुपर्छ ?
लघुवित्त संस्थाबाट कर्जा लिन अन्य बैंकजस्तो हरेक दिन शाखा कार्यालय धाइरहनु पर्दैन। कार्यक्रम सञ्चालन भएका जिल्लाको सम्बन्धित शाखा कार्यालयमा खबर गरेपछि वित्तीय संस्थाका कर्मचारी गाउँमै गई समूह गठन गरी सात दिनको तालिम दिन्छन्। ब्याज, बचतलगायत विषयमा तालिम दिएपछि समूह पास हुन्छ र कर्जा वितरण प्रक्रिया सुरु हुन्छ। पाँच जनाको एउटा समूह हुन्छ र कम्तीमा दुई समूहको एकाइ हुन्छ।   

लघुवित्त संस्थाको कर्जा कति समयभित्र फिर्ता गर्नुपर्छ ?
सुरुमा एक–डेढ वर्षको हुन्छ। पहिलो पटक लिएको कर्जाको सही सदुपयोग भएमा दोस्रो पटकलाई बढीमा पाँच वर्षको सयम दिइन्छ।

लघुवित्त संस्थाले कति कर्जा दिन्छन् ?
हाल प्रतिसदस्य बढीमा सात लाख रुपैयाँ दिन सक्ने प्रावधान छ। पुराना सदस्यलाई बिनाधितो पाँच लाख रुपैयाँ दिन सकिने व्यवस्था छ।

लघुवित्त संस्थाले ब्याज बढी लिन्छन् भन्ने गुनासो छ नि ?
लघुवित्त संस्थाले हाल १८ प्रतिशतसम्म ब्याज लिने गरेका छन्। जुन बढी होइन। दुर्गम क्षेत्रमा गई सेवा दिने र कर्जाको मात्रा पनि सानो भएको र सदस्यको तालिममा ठूलो रकम खर्च हुने भएकाले तत्काललाई ब्याजदर घटाउन सक्ने अवस्था छैन। छिमेकी मुलुक भारतमा पनि लघुवित्त संस्थाले २४ प्रतिशत ब्याज लिने गरेका छन्।

लघुवित्त संस्थाबीचमै प्रतिस्पर्धा छ। यसको रोकथाम गर्न के गर्नुपर्छ ?
स्वस्थ लघुवित्त कार्यक्रम सञ्चालन गर्न संस्थाको संख्या घटाउनु पर्छ। अधिकांश नयाँ खुलेका संस्थाले कर्जा बाँड्दै हिँडेका छन्। तर, सीपमूलक तालिमलगायत उत्पादन गरेका वस्तु बिक्री गर्न बजारको व्यवस्था गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन। संस्थाको संख्या धेरै भएकाले एउटा क्षेत्रमा धेरै संस्थाले लगानी गरेका छन्। फलस्वरुप एउटा व्यक्तिले धेरै संस्थाबाट कर्जा लिने गरेका छन्। कालान्तरमा यसको असर नदेखिए पनि भविश्यमा यसले खतरा निम्त्याउन सक्छ। केही वर्षअघि भारतको आन्द्र प्रदेशमा लघुवित्तले निम्त्याएको घटना नेपालमा पनि दोहोरिन सक्ने भएकाले समयमै सतर्कता अपनाउनु पर्छ।

दोहोरो कर्जा लिनेको संख्या कति छ ?
हालसम्म यकिन तथ्यांक नभए पनि करिब २५ प्रतिशत दोहोरो कर्जा लिएको अनुमान छ। तर, सही सदुपयोग गर्न सके यो समस्या हुँदै होइन। धेरै संस्थाबाट कर्जा लिई लगानी गर्दा नाफा बढ्ने भएकाले सबैको कर्जा तिर्नसक्छ। तर, कर्जाको दुरुपयोग भएपछि परिवारमा झगडा हुने र बैंकलाई सावा ब्याज तिर्न घर, खेत नै बिक्री गर्नुपर्ने अवस्था आउछ। लघुवित्त संस्था ‘चिन्यो श्रीखण्ड, नचिन्यो खुकुरीको भिड’ भनेजस्तै भएकाले आम्दानी हुने क्षेत्रमा लगानी गरे उन्नति हुन्छ तर विलासीका वस्तुमा लगानी गरे अवन्नति हुन्छ।

लघुवित्त संस्था सेवामुखीभन्दा नाफामुखी भएका हुन् ?
आम्दानी हुने क्षेत्रमा कर्जा लगानी गर्न उत्प्रेरित गर्ने दायित्व सम्बन्धित लघुवित्त संस्थाको हो। गरिब, विपन्नलाई सेवा दिन सञ्चालन भएका संस्थाले सेवामुखीभन्दा पनि कमाउमुखी भएका छन्। लघुवित्त क्षेत्रमा व्यापारको अवधारणा आएपछि विकृति आएको छ।

राष्ट्र बैंकको अनुगमन फितलो भएको हो ?
लघुवित्त संस्थाको अनुगमनका लागि पहिलो कुरा त राष्ट्र बैंकसँग पर्याप्त जनशक्ति छैन। त्यसमा पनि राष्ट्र बैंकले वर्षको एक पटक अनुगमन गर्ने भएकाले यो पर्याप्त हुँदै होइन। तर, सम्बन्धित संस्थाले कर्जा लगानी गर्दा आफैं सतर्क भई कर्जा लगानी गर्नुपर्छ।

लघुवित्त क्षेत्रको विकृति रोक्न के गर्नुपर्छ ?
लघुवित्त क्षेत्रका विकृति रोक्न संस्थालाई एकआपसमा गाभेर संस्थाको संख्या कम गर्नुपर्छ। संख्या कम गर्दा अनुगमन सहज हुने र दोहोरो कर्जा पनि कम हुन्छ। संस्थाको चुक्ता पुँजी वृद्धि गरी प्रदेशस्तरको २० करोड र राष्ट्रिय स्तरको ६० करोड रुपैयाँ चुक्ता पुँजी निर्धारण गर्न लघुवित्त बैंकर संघले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको थियो। तर, राष्ट्र बैंकले हालसम्म छलफलको क्रममा रहेको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०३:०८ सोमबार

लघुवित्त मर्जर