अर्थ

'गुठीको जग्गामाथि धेरै चलखेल'

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले गुठीको जग्गामाथि धेरै चलखेल भएको बताएकी छिन्। मठ, मन्दिर तथा गुठीको जग्गा व्यक्तिले अतिक्रमण गर्ने र बिक्री गरेको सार्वजनिक भइरहेका बेला गुठी संस्थानले सार्वजनिक सम्पत्तिको संरक्षण नगरेको भन्दै उनले आलोचना गरेकी छिन्। मन्त्री अर्यालले संस्थानले आफू माताहतका जमिनको रेकर्ड नराखेको भन्दै तत्काल जग्गाको अभिलेख राख्न निर्देशन दिएकी हुन्।

गुठी संस्थानको ५६ औं वार्षिकोत्सवका अवसरमा आइतबार मन्त्री अर्यालले जग्गाको रेकर्डसमेत राख्न नसकेकामा गुठी संस्थान नेतृत्वप्रति आक्रोश व्यक्त गरिन्। ‘गुठी मातहतका सबै मठ, मन्दिर र सार्वजनिक जग्गाको तत्काल रेकर्ड राख्नुहोस्,’ मन्त्री अर्यालले निर्देशन दिँदै भनिन्, ‘गुठीको जग्गामाथि धेरै चलखेल भयो।’

संस्थान गठन भएको ५५ वर्ष पूरा हुदाँ पनि गुठीको सम्पत्ति यति हो भनेर भन्न सक्नु दुःखद अवस्था रहेको भन्दै मन्त्री अर्यालले चिन्ता व्यक्त गरिन्। ‘नेपालमा सबैभन्दा बढी सम्पत्ति भएको संस्था गुठी संस्थान हो,’ उनले भनिन्, ‘आजसम्म हाम्रो सम्पत्ति तथा जग्गा यति छ भनेर यकिन गर्न नसक्नु दुःखद पक्ष हो।’ कहाँ–कहाँ कति जमिन मिचियो ? कसैसँग अभिलेख छैन,’ उनले भनिन्।

अतिक्रमित जमिनको संरक्षणमा गुठीले ध्यान निदएको भन्दै उनले चिन्ता व्यक्त गरिन्। अर्यालले सरकारले भेटी नभएर गुठी संस्थानको सम्पत्ति संरक्षण गरेर खुसी बनाउन अनुरोध गरेकी छन्। गुठीको जग्गा बचाएर, सुशासन कायम गराएर मन्त्रालयलाई खुसी गराउन गुठी संस्थान नेतृत्वलाई निर्देशन दिइन्।

उनले गुठी संस्थान समयानुकूल परिवर्तन हुनुपर्ने धारणा राखिन्। गुठियाराहरूको भावनामा चोट नपुगोस् भन्ने कुरामा मन्त्रालय संवेदनशील भएको बताउँदै गुठियारालाई देखाएर व्यक्तिको निजी स्वार्थ पूरा गर्न लाग्ने तत्वप्रति होसियार हुनुपर्ने उनको धारणा थियो। गुठी संस्थान धर्म, संस्कृति, सम्पत्ति संरक्षणकै निम्ति गठन भएको भन्दै उनले त्यसकारण बढी जिम्मेवारी संस्थान कै हुने बताइन्।

प्रकाशित: १८ कार्तिक २०७६ ०२:४७ सोमबार

गुठी चलखेल