अर्थ

अन्नपूर्ण आरोहीका लागि उद्धार केन्द्र

अन्नपूर्ण आधारशिविर केही तल स्थापन गरिएको उद्धार केन्द्रमा ड्रोन परीक्षण गर्दै। तस्बिर सौजन्य : विष्णु कल्पित

पोखरा - वर्षेनी हजारौं पदयात्री पुग्ने अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा प्रविधियुक्त उद्धार केन्द्र (रेस्क्यू सेन्टर) स्थापना गरिएको छ। एबिसीको पदमार्गमा पुगेका पदयात्री र अन्नपूर्ण हिमालको आरोहणमा निस्केका आरोहीको सुरक्षाका लागि उद्धार केन्द्र स्थापना गरिएको हो।

एबिसीभन्दा केही दूरी तलको माछापुच्छ्रे आधारशिविर (एमबिसी) नजिकै समुन्द्री सतहदेखि ३९ सय मिटर उचाइमा प्रविधियुक्त उद्धार केन्द्र स्थापना गरिएको हो। यो नै हिमाली क्षेत्रको सर्वाधिक उचाइको उद्धार केन्द्र रहेको नेपाल पर्वतारोहण संघ (एनएमए)ले बताएको छ। कोरियाली दाता कोरियाली टेलिकम (केटी), अम होङ गिल ह्युमन फाउन्डेसन र एनएमएबीच उद्धार केन्द्र सञ्चालन सम्बन्धी बिहीबार पोखरामा सम्झौतासमेत भएको छ। 

सम्झौताअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत उच्च पदाधिकारी एमबिसीको उद्धार केन्द्र पुगेका थिए। आधारशिविरको यो उद्धार केन्द्रलाई नेपाल अन्नपूर्ण आइसिटी रेस्क्यु सेन्टर नाम दिइएको छ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले अहिलेसम्म निकै दुख र कष्टका साथ हिमाली क्षेत्रमा हराएका आरोही र सहयोगीको उद्धार गर्दै आएकामा यो प्रविधिले अब खोज र उद्धारमा सहज हुने बताए। उनका अनुसार आरोहणमा गएका आरोहीलाई ध्यानमा राखेर यो उद्धार केन्द्र स्थापना गरिएको हो। यसले आधारशिविरको पदयात्रामा गएका पदयात्रीलाई पनि आवश्यक सहयोग गर्नेछ। 

‘हिमाल आरोहणमा गएका आरोही हराएको खण्डमा अहिलेसम्म हामीले हेलिकप्टरको माध्यमबाट खोज र उद्धार गर्दै आएका थियौ,’ लामाले भने, ‘हेलिकप्टरको भरमा खोज्दा लामो समय खर्चिनुपरेको थियो। तर, अब भने खोजी र उद्धारमा प्रविधि प्रयोग हुनेछ।

हराएका मान्छे फेला पारेपछि बल्ल हेलिकप्टर वा मानवस्रोतको प्रयोग हुनेछ।’ उनका अनुसार आरोहणका क्रममा हराएका धेरै आरोहीको ज्यान गएपछि मात्र उद्धार हुन्छ। तर आधारशिविरका यी प्रविधि बेलैमा प्रयोगमा ल्याउँदा सम्पर्कबिहीन भएका आरोहीलाई जीवितै फेला पार्न सकिने सम्भावना हुन्छ।

लामाका अनुसार आरोहणमा जाने आरोहीलाई उद्धार केन्द्रमा राखिएका भिन्दै डिभाइस दिइन्छ। डिभाइस बाहेक केन्द्रमा उच्च प्रविधियुक्त दुइटा ड्रोन पनि राखिएको छ। आरोहीले बोक्ने डिभाइसको कनेक्सन ड्रोन र केन्द्रमा हुन्छ। आरोहणमा रहेका आरोही हराएमा ड्रोनबाट खोजी सुरु हुन्छ। झन्डै सात हजार मिटर उचाइसम्म उड्न सक्ने ड्रोन डिभाइसले पठाएको संकेतको आधारमा आरोही खोज्न जान्छ। खोजीमा उडेको ड्रोनले केन्द्रको मोनिटरमा सिग्नल पठाउँछ।

त्यत्ति मात्र नभई त्यही ड्रोनले नै आरोही जीवित छन् वा मृत भन्ने पनि छुट्याउँछ। ‘मानिसको तापक्रमअनुसार ड्रोनले जीवित वा मृत भन्ने पहिचान गर्न सक्छ। त्यही आधारमा उद्धारमा खटिन सहज हुन्छ,’ लामाले भने, ‘अहिलेसम्म मान्छे जीवित वा मृत भन्ने नै पहिल्याउन कठिन छ। तर, यो ड्रोनले मान्छे मृत वा जीवित भन्ने पनि पहिल्याउँदा प्राथमिकताका आधारमा उद्धार गर्न सकिन्छ।’ 

उनका अनुसार अर्काे ड्रोनले अत्यावश्यक औषधि र केही खाना बोकेर आरोहीसम्म पुग्न सक्छ। सात किलो तौलसम्म औषधि र खानेकुरा बोकेर ड्रोन उड्न सक्ने उनले सुनाए। त्यसले गर्दा खाना र औषधि अभावमा तड्पिएका आरोहीलाई केही सहज पनि हुन्छ।

‘आरोही जीवित भेटिएको प्रमाणित भएपछि प्राथमिकताका साथ उद्धारमा खटिन हेलिकप्टर परिचालन गर्न सकिन्छ,’ उनले भने। हिउँमा पुरिएकै अवस्थामा पनि ड्रोनले डिभाइस पत्ता लगाउन सक्ने हुँदा भेटाउन सहज हुने उनले बताए। 

अधिक चिसो मौसम हुने केन्द्रका डिभाइस र ड्रोनका लागि आवश्यक विद्युत् उपलब्ध गराउन सोलार र जेनेरेटरसमेत राखिएको उनले बताए। यी डिभाइसलाई हेलिकप्टरमा बोकेर अन्यत्र लगेर पनि खोजी र उद्धारमा खटाउन सकिने अध्यक्ष लामाले बताए।

‘अधिक चिसो मौसम भएको ठाउँमा पनि झन्डै एक घण्टा निरन्तर ड्रोन उड्न सक्छ,’ उनले भने, ‘अरुका विद्युतीय उपकरण प्रयोगमा कठिनाइ भए पनि उद्धार केन्द्रका यी ड्रोन र मोनिटर भने सहजै सञ्चालन गर्न सकिने उच्च क्षमतायुक्त छन्।’ उद्धार केन्द्रमा खटिने प्राविधिक र खोज तथा उद्धारका टोली पनि तयारी अवस्थामा राखिएको छ। 

सामाजिक उत्तरदायित्वअन्तर्गत एबिसी पदमार्गमा रेस्क्यु सेन्टर स्थापना गरेको कोरिया टेलिकमका उप प्रमुख कार्यकारी अधिकारी उन जोङ जिनले बताए। उनले यो नै विश्वकै अग्लो स्थानको उद्धार केन्द्र भएकाले अबदेखि अन्नपूर्ण क्षेत्रको पदयात्राले थप पहिचान बनाउने बताए। उनका अनुसार पछिल्लो सात वर्षमा अन्नपूर्ण क्षेत्रमा मात्र आरोहण र पदयात्रामा गएर हराउँदा एक् सय ७२ जनाले ज्यान गुमाएकाले यो प्रविधि प्रयोग गर्दा आरोहीको ज्यान बचाउन सकिन्छ। 

‘हराएका मान्छेको जीवितै उद्धार गरेर ज्यान बचाउन सक्ने हो भने अरु आरोही र पदयात्रीको मनोवल बढ्छ,’ उनले भने, ‘अन्नपूर्ण क्षेत्रको उद्धार केन्द्रबाट बेलैमा र जीवितै उद्धार हुन्छ भन्ने सन्देश विश्वभर फैलाउन सक्ने हो भने त्यो क्षेत्रको पदयात्रामा जाने पदयात्री र आरोही थपिनेछन्।’ उद्धार केन्द्र थपिएसँगै अन्नपूर्ण हिमाललाई केन्द्रबिन्दु बनाएर प्रचारप्रसार गर्न सकिने उनले बताए।

अम होङ गिलका कार्यकारी निर्देशक होङ गिल उमले आठ हजार मिटरमाथि उचाइका हिमाल आरोहण गरेकामध्ये सबैभन्दा कठिन अन्नपूर्ण आरोहणका क्रममा भएको बताए। अन्नपूर्ण आरोहण गर्दा आँखाबाट आसु बगेको र धेरै साथी गुमाउनुपरेको उनले सुनाए।

‘आरोहणमा सुरक्षा महसुस गरे भने आरोही बढ्छन्,’ उनले भने, ‘हामीले आरोहण गर्दाको त्यही कठिनाइ सम्झेर सघाएका हौं। आगामी दिनमा उद्धारमा खटिने टिम र प्रहरीका लागि बस्ने बासस्थान समेत बनाइदिने उनले बताए।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले उद्धार केन्द्र स्थापना हुँदा पदयात्रीलाई सुरक्षाको अनुभूति हुने बताए। अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले नेपालको पदयात्रा साहसिक हुँदाहुँदै पनि जोखिमपूर्ण रहेको सन्देश फैलिएकामा यसले सुरक्षाको प्रत्याभूति गराउने बताए। ‘हिमाल आरोहण हुने अन्यत्र पनि यस्तो प्रविधि विस्तार गर्नुपर्छ,’ कुँवरले भने, ‘यसले पदयात्रीलाई ढुक्कको पदयात्रा गराउँछ।’ 

प्रकाशित: १७ कार्तिक २०७६ ०२:२६ आइतबार

पोखरा रेस्क्यू_सेन्टर