अर्थ

नेचामा ‘चिया खेती’

नेचामै उत्पादनगरिएको नर्सरीको बगैँचा। फोटो सौजन्य, धनकुमार ढुंगेल

सोलुखुम्बु– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तरगत चिया उत्पादन ब्लक कार्यक्रममार्फत आर्थिक बर्ष २०७५/७६ देखि सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका विभिन्न क्षेत्रमा चियाको बोट रोप्न थालिएको छ।

चियाको लागि उपयुक्त हावापानी रहेको नेचा सल्यान गाउँपालिकाको माथिल्लो भेगमा ५० हजार चियाको बोट रोपिएको छ। कार्यक्रमअन्तरगत दुई सय हेक्टर जमिनमा चिया राप्ने लक्ष्य राखिएको नेचा सल्यानमा पहिलो बर्षनै ५ हेक्टर क्षेत्रफलमा चिया रोपिएको चिया उत्पादन ब्लक कार्यक्रमका सचिब बेद बहादुर भण्डारीले जानकारी दिए।

ईलामबाट ल्याईएको ५० हजार विरुवा कालिपोखरी र सेतिपोखरी सामुदायीक वनको खाली जग्गा तथा निजी जग्गामा रोपिएको छ। पहिलो बर्ष २० लाख लगानीमा चियाको विरुवा र नर्सरीकालागि ५३ हजार चियाको डाला ल्याएपछि अहिले नेचामै दुई लाखचियाको नर्सरी उत्पादन गरिएको छ।

कार्यक्रमका सचिब भण्डारीका अनुसार भण्डारी गाउँमा एक लाख, फुयालगाउँमा ३० हजार र झाँझरेमा ७० हजार चियाको नर्सरी उत्पादन गरिएको छ। दुईबर्षमा नर्सरी रोप्नकालागितयार हुने भएकाले चालु आर्थिक बर्ष २०७६/७७मापनि ईलामबाट एक लाखविरुवा र नर्सरीका लागि ५० हजार डाला ल्याउने योजना बनाएको भण्डारीको भनाई छ ।

७ बर्षसम्म चल्ने कार्यक्रम अवधिमा नेचा सल्यानका  माथिल्लो क्षेत्र सुकेपोखरी, चिसापानी पोखरी, फुर्के, भन्ज्याङ, गैरी हुदै ओखलढुंगाको धापसम्म नै चिया रोप्ने र आर्थिक उपार्जन संगै पर्यटनलाई पनि जोडेर अघि सोच बनाएको चिया उत्पादन ब्लक कार्यक्रमका सचिब भण्डारीले बताए।

भण्डारीले भने, ‘चियाखेतिमा विस्तारै आकर्षण बढ्दैछ तर श्रमदान गर्ने यूवाहरु गाउँमा छैनन्, त्यसकारणले श्रमदानमा निकै समस्या हुने गर्दछ। गाउँमा यूवा नहुनुले पनि कतिपय पाका पुस्ताको मन हँुदाहुँदैपनि बाँझो रहेको बारीमा पनि चिया रोप्न सकिएको छैन्।’ रोपेको ५ बर्षपछि चियाले उत्पादन दिने भएकाले नेचा क्षेत्रकै प्रशोधन केन्द्रको स्थापना गरिने तयारी थालिएको छ। 

 

 

प्रकाशित: १६ कार्तिक २०७६ ०५:३३ शनिबार

चिया_उत्पादन नेचा