गोरखा– वर्षेनी पाँच हजार भन्दाबढि बिदेशी पर्यटक पुग्ने उत्तरी गोरखाको मनास्लु पदमार्गमा सडक ट्रर्याकका कारण जोखिम बढेको छ।
सेनाले खोल्दै गरेको हावाडाँडा–लार्के सडक खण्डको अधिकासं ठाउँमा पदमार्ग पर्ने भएकाले हिड्ने बाटो पुरिने, ठुला ढुङ्गा अड्किएर बस्ने, हिड्न अफ्ठ्यारो हुने भएपछि पर्यटक त्रसित छन्। सडक खोल्दा चिरिएको भिर र पदमार्ग पुरिएर बनेको बुढीगण्डकी माथिको भिरमा पर्यटक डराई–डराई यात्रा गर्छन।
यो मुख्य सिजन भएकाले दैनिक ३० देखि ५० जना बिदेशी मनास्लु जाने गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ। गत वर्ष भन्दा पर्यटकको संख्या बढ्नुपर्ने अनुपातमा बढेको छैन। ‘यहाँ धेरै जोखिम बढेको छ भन्छन्, बिस्पोट गराएर ठुला पहरोमा सडक खुलाईँदैछ, ठाउँठाउँमा पदमार्ग पुरिएको छ’ एमक्याप सिर्दिबासका कर्मचारी छाङदोर्जे लामाले भने ‘पर्यटक पठाउने कम्पनीहरु, गाईडहरु र पर्यटक पनि जोखिम कम भएको ठाउँमा जान रुचाउँछन्।’
पदमार्गका होटल व्यवसायिहरु सडक ट्रर्याक खुलेको भन्दा नखुल्दा उत्तरी गोरखाका लागि धेरै फाईदा हुने दावी गर्छन। सडक नखुल्ने र पदमार्गलाई ब्यवस्थित बनाउन सक्ने हो भने पदमार्गमा आउने पर्यटकको संख्या ह्वातै बढ्ने र त्यसले ब्यापार, ब्यवशाय, भरिया देखि स्थानीय उत्पादनले बजार पाउने होटल ब्यवशाय ङवाङ फुन्जो लामा बताउँछन्।
‘बाटो आएपछि यहाँ टुरिष्ट कम आउँछन्, पहिले आरुघाटबाट हिँड्थे, अहिले सोती सम्म गाडी आउँछ, गाडी माथि आउँदै जाँदा पर्यटकको यात्रा छोटिन्छ’ चुमनुब्री गाउँपालिका ६ ताँजु स्थित झाम्बाला होटलका संचालक लामाले भने।
होटल ब्यवशायी देखि स्थानीयले दैनिक उपभोग्य सामग्री खच्चढबाट ल्याउने लाने गर्छन। खच्चढ हिड्ने र पदमार्ग एउटै हुँदा दुर्गन्ध हुने, अधिकासं ठाउँमा खच्चढ हिँडेका बेला पर्यटक रोकिनुपर्ने अवस्था छ। खच्चड हिड्ने बाटो फरक गर्नुपर्ने पर्यटकका गाईडहरुको सुझाब छ। ‘पदमार्गलाई सुरक्षित र ब्यवस्थित गर्नुपर्ने ठाउँमा सडक खोलेर जोखिम बढेको छ’ गाईड मुकेसकुमार कार्कीले भने ‘यसले यहाँका स्थानीयलाई घाटा हुन्छ, पर्यटकको रोजाईमा यहाँको ठाउँ घट्न थाल्छन्।’
मनास्लुमा मात्रै नभएर अन्यत्र पनि सडक खुलेका कारण पदमार्गमा जोखिम बढेको उनले बताए। ‘सुरक्षित यात्रा गर्न खोज्छन्, यहाँको बारेमा सोधखोज गरेर बुझेर मात्रै पर्यटकले जाने निधो गर्छन’ उनले भने ‘रमाईलो, कम जोखिम, बिदा समय अनुसार धेरै दिन घुम्न सक्ने, धुवाँधुलो नभएको ठाउँ पर्यटकको रोजाईमा पर्छ।’ अहिले खोलिएको ट्रयाक अधिकासं ठाउँमा बिस्पोट गराएर पहरो फुटाइएको छ।
मनास्लु क्षेत्रमा पर्यटकले तीन साता सम्म बिताउँछन्। आरुघाट हुँदै सोती, माछाखोला, सिर्दिबास भएर छेकम्पारको चुम उपत्याक जाने गर्छन्। चुमबाट फर्किएर सामागाउँ हुँदै नुब्री उपत्यका भएर अधिकासं लार्केपास गरेर मनाङ हुँदै फर्कन्छन भने कतिपय सामागाउँबाट फर्कन्छन्।
यसरी यात्रा गर्दा पर्यटकले बिताउने समय, भरिया र गाईडले गर्ने खर्चले स्थानीयको आम्दानी बढेको छ। ‘पदमार्ग रहेन भने मनास्लुको अस्तित्व रहँदैन’ चुमनुब्री गाउँपालिकाका उपप्रमुख कुमारी गुरुङले भनिन् ‘तिब्बत सँग सिमाना जोड्ने गरी सडक निर्माण भईरहेको छ, यसले केही कुरामा सजिलो होला तर पदमार्गलाई मासियो भने यहाँका जनताको रोजगारी गुम्नेछ।’ पदमार्ग सुधार र प्रचार प्रसारमा एमक्याप, गाउँपालिका र बिभिन्न संघ संस्थाले काम गरिरहेको उनले बताइन।
प्रकाशित: १४ कार्तिक २०७६ ०६:४७ बिहीबार