अर्थ

किवी खेती सम्बन्धी तालिम

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका किसानलाई किवी खेती सम्बन्धी तालिम दिइएको छ। पछिल्लो समय किवी खेतीको बढ्दो आकर्षणलाई ध्यानमा राखेर स्थानीय लेकाली कृषि फर्मको आयोजनामा किसानलाई किवी खेती सम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको हो।

नगरपालिकाको प्रायोजन र शुभ कृषि फर्मको सह–प्रायोजनमा मंगलबार र बुधबार सञ्चालन गरिएको तालिममा वडाका ७१ किसानको सहभागिता रहेको लेकाली कृषि फर्मका सचिव एलबी मगरले बताए। तालिममा सहभागी किसानलाई किवीको व्यवसायिक खेती गर्ने सीपका विषयमा सैद्धान्तिक र व्यवहारिक जानकारी दिइएको छ।

तालिममा सहभागी किसानलाई शुभ कृषि फर्मका सञ्चालक शुभचन्द्र राई र जेटिएका ओजेटी गरिरहेका विद्यार्थीले किवी खेती सम्बन्धी प्रशिक्षण दिएका थिए। तालिम लेकाली कृषि फर्मका अध्यक्ष सुरेश मगरको सभापतित्व, वडाध्यक्ष रामचन्द्र राईको प्रमुख आतिथ्यता एवं टिटिएस पाथेका–खार्मीका प्रमुख श्यामकुमार राईको विशेष आतिथ्यतामा समापन गरिएको थियो।

प्रकाशित: १० कार्तिक २०७६ ०३:०४ आइतबार

किवी_खेती तालिम