अर्थ

मोतिहारी–चितवन एलपिजी ग्यास पाइपलाइन सर्वेको उद्घाटन

बारा– अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन र  भारतको मोतिहारीदेखि  चितवनसम्म खाना पकाउने एलपिजी ग्यास ल्याउन पाइलाइनको सर्वे कार्यको शनिबार एक कार्यक्रम गरि उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्री मातृका प्रसाद यादवले अमलेखगन्जमा उद्घाटन गरेका छन्। मन्त्री यादवले पाइपलाइन बिछ्याउने रुटमा औपचारिक प्वाइन्ट पिलर गाडेर सर्वे कार्यको उदघाटन गरेका हुन्।

अमलेखगन्ज–चितवनको लोथरसम्म ६२ किलोमिटर दुरीको पेट्रोलियम पाइपलाइन र मोतीहारीदेखि चितवनसम्म खाना पकाउने एलपिजी ग्यास पाइलाइनको नेपालतर्फ (वीरगन्जदेखि चितवनसम्म) ९८ किलोमिटर लामो निर्माण गरिने कार्यक्रममा जानकारी दिइयो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री यादवले सरकारले पेट्रोलियम पदार्थको र एलपिजी ग्यासको ढुवानीको लागत घटाउने पाइपलाइन निर्माण गर्न प्रक्रिया अगाडि बढाएको बताए।

पाइपलाइन निर्माण भएपछि यसले राज्यलाई बार्षिक अर्बो रुपैयाँ ढुवानी खर्च बचत हुने र बचत गरिने रकमबाट देशलाई समृद्धिको दिशामा अगाडि बढाउने कार्यमा मद्दत पुग्ने मन्त्री यादवको भनाई छ।

अमलेखगन्ज–चितवनको लोथरसम्म ६२ किलोमिटर दुरीको पेट्रोलियम पाइपलाइन निर्माण गर्न पाँच अर्ब ६७ करोड लाग्ने अनुमान गरिएको र सर्वे गरेर यसको डिपिआर तयार भएपछि मात्रै वास्तविक लाग्त पत्ता लाग्ने नेपाल आयल  निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। 

भारतको मोतिहारीदेखि चितवनसम्म खाना पकाउने एलपिजी ग्यास पाइलाइनको नेपाल तर्फ (वीरगन्ज देखि चितवनसम्म) ९८ किलोमिटरको दुरीमा रहेको र यसको अनुमानित लागत ११ अर्ब १९ करोड रहेको भट्टराईले बताए।

अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन र भारतको मोतिहारीदेखि चितवनसम्म खाना पकाउने एलपिजी ग्यास ल्याउन पाइपलाइन निर्माण गरिएपछि यसमा लागेको लागत पाँचसम्ममै यसको ढुवानीबाट गरिँदै आएको खर्चले पुरा गरिने आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।

ग्यास र पेट्रोलियम पदार्थ ढुवानीका लागि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सहमति भारतीय आयल निगमसँग भएको र नेपाल आयल निगम र भारतीय आयल निगमले संयुक्त रुपमा विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने प्रकिया अगाडि बढेको पौडेलले बताए।

ठूलो परिमाणमा पेट्रोलियम पदार्थ राजधानी काठमाडौंसहित पोखरा, भैरहवालगायत क्षेत्रमा खपत हुने भएकोले ढुवानी लागत घटाउन चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन निर्माण गर्न लागिएको कार्यकारी निर्देशक पौडेलले बताए।

कार्यक्रममा अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण गरेर डिजेल आपूर्तिमा अमलेखगन्जसम्म धेरै सहजता भएको र चितवनसम्म पाइपको माध्यमले ग्यास र पेट्रोलियम पदार्थ ढुवानी गर्दा यसले उपभोक्ता र आयल निगम दुबैलाई नै फाइदा पुग्ने बताए।

मोतीहारी–अमलेखगन्ज ग्यास पाइपलाइन  पेट्रोलियम पाइपलाइन बिछ्याएको पाइपसँगै हुने र अमलेखगन्जदेखि चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइनसँगै बिछ्याइने सोच रहेको बताइएको छ।

मोतीहारीबाट अमलेखगन्जसम्म पाइपलाइन निर्माण गरेपछि अहिले चौबीसै घण्टा पाइपमार्फत डिजेल आयात भइरहेको अमलेखगन्ज डिपो प्रमुख यादवले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App