अर्थ

खाद्यवस्तु निर्यातमा चीनको अवरोध

रसुवामा उत्पादन हुने कृषि सामग्री चिनियाँ बजारमा लैजान चीनको केरुङमा आयोजित बैठकमा सहभागी नेपाली तथा चिनियाँ प्रतिनिधि। तस्बिर : नागरिक

रसुवा – नेपाली खाद्य सामग्रीको चिनियाँ बजारमा निर्यात तीन महिनादेखि रोकिएको छ। भाषाको कारण देखाउँदै चिनियाँ पक्षले नेपाली खाद्य वस्तु आयातमा रोक लगाएपछि यताबाट निर्यात ठप्प भएको हो।

यसअघि बिस्कुट, चाउचाउ, चिउरा, मैदालगायत नेपाली उत्पादन चीनमा निर्यात हुँदै आएको थियो। चिनियाँ भाषामा मात्रै लेखिएका सामग्री आयात हुँदा नेपाली पक्षले जाँचपाँस गर्न छाडेपछि चिनियाँ पक्षले बदलामा नेपाली वस्तुको प्रवेशमा कडाइ गरेको हो।

चिनियाँ भाषामा मात्र लेखिएको सामान फिर्ता गर्ने गरेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए। ‘उसले अहिले चिनियाँ भाषामा लेबलिङ गरेको सामग्री मात्रै निर्यात गर्न दिन्छ,’ उनले भने, ‘हाम्रोमा नेपाली तथा अंग्रेजीमा मात्रै लेबलिङ हुनुपर्ने प्रावधान छ।’

अहिले यस विषयमा छलफल चलिरहेको छ। रसुवागढी नाकाबाट आयात बढ्दै गए पनि निर्यात बढ्न सकेको छैन।

भाषिक समस्याका कारण नेपाली उत्पादन लैजान कठिनाइ भइरहेको बेला रसुवामा उत्पादन हुने सामग्री निर्यातका लागि भने छलफल भएको छ।

जिल्लामा उत्पादन हुने कृषिजन्य सामग्री र हस्तकलाका सामान निर्यात गर्ने विषयमा दुई पक्षबीच छलफल भएको हो। चीनको केरुङमा भएको चिनियाँ भन्सारका प्रतिनिधि र नेपाली पक्षबीच भएको छलफलमा सामग्री लैजाने प्रक्रिया अघि बढाउने सहमति भएको छ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको केरुङ बजारमा पहिलेदेखि नै नेपाली उत्पादन जाने गरेको थियो। तर नाका सञ्चालनमा आएपछि यहाँको उत्पादन कमै मात्र निर्यात हुने गरेको छ। केरुङमा नेपाली होटल सञ्चालनमा रहेको भए पनि यहाँको तरकारी लैजान सकिएको छैन।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार केरुङमा सञ्चालन भइरहेको मेला सकिपछि यसबारे प्रक्रिया अघि बढाइने छ। पहिलो चरणमा चीनमा निर्यात हुने सक्ने सामग्रीको सूची तयार गरिने छ।

त्यसपछि नेपाली तरकारी तथा फलफूलका लागि स्टल तयार गरिने छ। नेपाली उत्पादन कहिलेदेखि लैजान सकिन्छ भन्ने निश्चित भइनसकेको उनको भनाइ छ। नेपाली पक्षले भन्सार तथा नाकासँग सम्बन्धित अन्य योजना पनि अघि सारेको छ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र जिलोङबीच भगिनी सम्बन्ध कायम गर्नका लागि छलफल गर्ने, नेपाली चालकलाई सवारी सञ्चालनसम्बन्धी चिनियाँ भाषाको सामान्य जानकारी गराउने र नाकामा रहेका नेपालीलाई चिनियाँ र चिनियाँलाई नेपाली भाषा सिकाउने विषयमा समेत छलफल भएको थियो।

प्रकाशित: ६ कार्तिक २०७६ ०२:३६ बुधबार

निर्यात अवरोध