अर्थ

प्रहरीले बढायो निगरानी

काठमाडौं – उपत्यकामा निर्माण सामग्री बेच्दै आएका केही डिपो र ट्रक व्यवसायीले ठगी गरेको खुलेपछि प्रहरीले सबै व्यवसायीमाथि निगरानी गर्न सुरु गरेको छ।

व्यवसायीले निर्माण सामग्री ओसारपसार गर्ने मिनी ट्रकको तल्लो सतहमा ढलान र फलामे फ्रेम राखेर कम परिमाणमा सामग्री दिने गरेको शुक्रबार फेला परेको थियो। निर्माण सामग्री बेच्दा एकै ट्रिपमा १६ सयदेखि २२ सयसम्म ठगी गरेको फेला परेपछि प्रहरीले उपत्यकाका सबै स्थानमा अनुगमन सुरु गरेको हो।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालले ठिपोहरुले ठगी गरेको गुनासो आएपछि सबै स्थानमा प्रहरी परिचालन गरिएको जानकारी दिए। ‘हामीले खोजिरहेका छौं, प्रहरी परिचालन भएका छन्। यसरी ठगीधन्दा गर्ने डिपो र चालकको संख्या बढेको छ,’ उनले भने।

आइतबारसम्म सर्वसाधारणलाई ठग्दै आएका बालुबा, गिटी र इटाका २३ वटा डिपोमा प्रहरीले छापा मारिसकेको छ। अन्य ठिपोमा प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ। निर्माण सामग्री लोड गरेर गुडेका मिनी ट्रकमाथि पनि ट्राफिक प्रहरीको सहायतामा सडकमै चेकजाच भइरहेको छ। उनका अनुसार शुक्रबार नियन्त्रणमा लिएका ठिपोका सञ्चालकलाई ठगीअन्तर्गत मुद्दा चलाउने प्रक्रिया सुरु गरिएको छ।

डिपो सञ्चालक र चालकको मिलेमतोमा एक ट्रिप निर्माण सामग्री बराबर १६ सय देखि २२ सय रुपैयाँसम्म ठगी गर्दै आएको तथ्य प्रहरीले फेला पारेको थियो। सामग्री ढुवानी गर्ने क्रममा मिनी ट्रकमा पाँच इन्चसम्मको फलाम वा काठको बक्स राखेर सामग्रीको परिमाण कम गराएको भेटिएको हो।

अनुसन्धानका क्रममा नयाँ बसपार्क, स्वयम्भू, चावहिल, सिनामंगल, महाराजगञ्ज लगायत क्षेत्रका अघिकांश टिपोले यसरी अवैध गठी धन्दा गर्दै आएको भेटिएको थियो। अनुसन्धानमा एक ट्रिपमा सय क्युफिट भनि बिक्री गर्दा जम्मा ८२.६३ क्युफिट मात्रै ढुवानी गरेको भेटिएको छ।

पक्राउ पर्ने डिपो सञ्चालकमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, बज्र इन्टरप्राइजेज सप्लायर्सका विरेन्द्र कुइँकेल, गरिमा सप्लायर्सका दिपेन्द्र केसी, जेबिएस सप्लायर्सका सुकबहादुर लामा रहेका छन्। त्यस्तै, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी, खाँडादेवी निर्माण सप्लायर्सका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। गोंगबुको धनेश्वर सप्लायर्सका सन्तोष कुँवर र श्री भूमि सप्लायर्सका श्यामबहादुर मगरलगायत पक्राउ परेका छन्। महाराजगञ्जमा रहेको काली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, कुण्डला सप्लायर्सका मदन प्रधान, आर्कष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भूमा रहेको स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, गोरखाली सप्लायर्सका गोपाल भण्डारी, भ्याली क्वालिटी सप्लायर्सका जोगबहादुर तामाङ, नव अरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठलगायत प्रहरी नियन्त्रणमा छन्। एकदिनमै अध्ययन गर्दा ठूलो परिमाणमा ठगी गरेको भेटिएपछि अहिले यसबारे प्रहरीले निगरानी बढाएको महाशाखाले जनाएको छ।

भक्तपुरमा पनि समातिए
भक्तपुर प्रहरीले निर्माण सामग्री ठगी गर्दै आएका डिपो र मिनी ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। उपभोक्ता हित संरक्षण समितिले जाहेरी दिएपछि महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न डिपोमा पुगेर अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा डिपोले उसैगरी ढलान र फलामे फ्रेम राखेर ठगी गर्दै आएको भेटिएको छ। प्रहरीले शनिबार दिनभर सडकमै पुगेर २४ वटा निर्माण सामग्री बोकेका डिपो र मिनी ट्रक नियन्त्रणमा लिएको थियो। त्यस्तै, आइतबार १० वटा मिनी ट्रक नियन्त्रणमा लिएको छ। एकै तरिका अपनाएर ठगी गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार कमलविनायक, जगाती, दूधपाटी, सल्लाघारी, सुर्यविनायकलगायत ठाउँबाट नियन्त्रणमा लिएको हो। शनिबार नियन्त्रणमा लिएका डिपोबारे आइतबार पत्रकार सम्मलेन गरी जानकारी गराउने परिसरले जनाएको छ। उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष ज्योति बानियाँले उपत्यका मात्रै नभएर यसरी निर्माण सामग्रीमा ठगी गर्ने सबैतिरका डिपो र चालकलाई कारबाही गर्नुपर्ने जानकारी दिए।

उनले भक्तपुर र काठमाडौं मात्रै नभएर देशभर नै यसरी ठगी गर्ने व्यवसायीको टोली हुनसक्ने बताए। ‘उपत्यकाबाट सुरु भएको यो निगरानी अन्य स्थानमा पनि पु-याउन आवश्यक छ, यस्तो किसिमको ठगी गर्नेलाई गम्भीर रुपमा लिएर कानुनी कारबाही हुनुपर्छ,’ उनले भने। उनका अनुसार निर्माण व्यवसायीले मिनी ट्रकमा एउटै तहको फ्रेम राखेर ठगी गर्दै आइरहेको भेटिएको छ।

प्रकाशित: ४ कार्तिक २०७६ ०१:४९ सोमबार

निर्माण_सामग्री ठगी_प्रकरण