अर्थ

वाणिज्य बैंकको इम्पावरमेन्ट एकेडेमी

काठमाडौं – सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले युवा वर्गलाई लक्षित गरी ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ सुरु गरेको छ। जब डाइनामिक्ससँगको साझेदारीमा एकेडेमी सञ्चालन भएको बैंकले जनाएको छ।

बैंकले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त एकेडेमी सुरु गरिएको जनाएको छ। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले कात्तिक १ गतेबाट निःशुल्क आवेदन खुला हुने जानकारी दिए। उनले भने, ‘बैंकिङ क्षेत्रमा काम गर्न इच्छुक युवालाई लक्ष्य गरी सञ्चालन भएको यस कार्यक्रममा तीनदिने प्राविधिक, व्यावहारिक र प्राक्टिकल बैंकिङ विषयमा कक्षा सञ्चालन हुनेछन्।’

तर, पहिलो चरणमा प्रदेश ३ का स्नातक र स्नातकोत्तर तह उत्तिर्ण विद्यार्थीले आवेदन दिन सक्ने उनले बताए। संघीय राजधानी काठमाडौं भएकाले पहिलो चरणमा बैंकको दरबारमार्गस्थित तालिम केन्द्रबाट प्रशिक्षण सुरु गरेको उनले बताए। ‘हामीले त यसको सुरुवात मात्र गरेका हौं, अन्य वाणिज्य बैंकले पनि यस्ता कार्यक्रम सञ्चालन गरे मुलुकभरीका युवाले बैंकिङ क्षेत्रका विषयमा जानकारी लिन मौका पाउँछन्,’ सिइओ श्रेष्ठले भने।

यसमा ३० जनालाई निःशुल्क तीनदिने तालिम दिइने छ। त्यसपछि बैंकमा तीन महिनाको ‘इन्टर्नसिप’ हुनेछ। तर, इन्टर्नसिपको अवधिमा दैनिक दुई सय रुपैयाँ ज्याला दिने बैंकले जनाएको छ।

बैंकले गत आर्थिक वर्ष ०७५/७६ मा पाँच अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको थियो। सोही अवधिमा करिब एब अर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ।

बैंकको मुलुकभरी दुई सय ३८ वटा शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ। त्यसैगरी, बैंकका हाल दुई सय चारवटा एटिएम बुथ सञ्चालनमा रहेका छन् भने ९३ वटा शाखारहित बैंकिङ छ।

आगामी दिनमा बैैंकिङ क्षेत्रको विस्तार गरी वित्तीय पहुँचको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, राष्ट्र बैंकले तोकेका प्राथमिकताका क्षेत्र तथा वर्गमा कर्जा प्रवाह गर्ने योजनामा रहेको सिइओ श्रेष्ठले बताए।

उनका अनसार बैंकले हालसम्म करिब ६० करोड रुपैयाँ सहुलियत कर्जा प्रवाह गरिसकेको छ। उक्त कर्जा नौ सय ८७ जनालाई वितरण गरेको उनले बताए। त्यसैगरी, बैंकले चार सय १० जना महिलालाई महिला उद्यमशिलता कर्जा प्रवाह गरेको जनाएको छ। हाल बैंकमा दुई हजार तीन सय कर्मचारी छन्।

प्रकाशित: १ कार्तिक २०७६ ०२:३६ शुक्रबार

इम्पावरमेन्ट_एकेडेमी