अर्थ

६१ प्रतिशत नेपालीको पहुँचमा बैंक

काठमाडाैं – मुलुकको झण्डै ६१ प्रतिशत नागरिकको पहुँचमा बैंक तथा वित्तीय संस्था पुगेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म करिब दुई करोड ७८ लाख सर्वसाधारणले बैंकमा खाता खोलेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार केही अघिसम्म ४० प्रतिशतमा रहेको बैंकिङ सेवाको पहुँच हाल करिब ६१ प्रतिशतमा विस्तार भएको हो। एकजना मानिसले धेरैवटा बैंकमा खाता खोल्ने भएपनि एउटा मात्र खाता गणना गरेर ६०.९ प्रतिशत नेपालीको पहुँचमा बैंक, वित्तीय संस्था पुगेको निष्कर्ष निकालेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंक, अनुसन्धान विभागका अनुसार ६०.९ प्रतिशत नेपालीको कम्तीमा एक निक्षेप खाता छ। बैंकबाहेकका लघुवित्त संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवासमेत जोड्दा वित्तीय पहुँच अझै बढ्ने राष्ट्र बैंकको भनाइ छ।

बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धिसँगै शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोग बढेकाले बैंकिङ पहुँच बढेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाको एउटा शाखा कार्यालयमा औसत तीन सयजनाले खाता खोलेका छन्। निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ। जसअनुसार असार मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा दुई करोड ७८ लाख निक्षेप खाता र १४ लाख ४० हजार कर्जा खाता संख्या पुगेको छ। केही वर्ष अघिसम्म बैंकमै गई कारोबार गर्ने चलन रहेकामा पछिल्लो समय इन्टरनेटको उपलब्धता बढेसँगै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेको छ।

राष्ट्र बैंकका अनुसार हालसम्म ८३ लाख ४७ हजार जनाले मोबाइल बैंकिङ सेवा लिएका छन्। त्यसैगरी, ६७ लाख नौ हजारले डेबिट कार्ड लिएका छन्। हालसम्म करिब नौ लाख जनाले इन्टरनेट बैंकिङ सेवा लिएको राष्ट्र बैंकले जनाएको छ। हालसम्म सात सय ३९ स्थानीय तहमा वाणिज्य बैंक पुगेकाछन्।

प्रकाशित: ३० आश्विन २०७६ ०३:३१ बिहीबार

बैंक पहुँच