अर्थ

जलविद्युतमा लगानी गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्। 

अर्थमन्त्री खतिवडाले गैर आवासीय नेपालीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने आश्वासन पनि दिए। गैर आवासीय नेपाली संघको मंगलबारबाट काठमाडौंमा सुरु भएको नवौं विश्व सम्मेलनको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले सरकार एक्लैले मुलुकलाई समृद्ध बनाउन आवश्यक लगानी जुटाउन सम्भव नभएको उल्लेख गर्दै गैर आवासीय नेपालीहरुबाट जलविद्युत क्षेत्रको विकासका लागि वार्षिक रुपमा करिव ७० अर्व लगानीको अपेक्षा गरिएको पनि बताए।

अर्थमन्त्री खतिवडाले १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि बाह्य लगानीको आवश्यक्तामा सरकारले जोड दिएको पनि स्पष्ट पारे। त्यस अवसरमा अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा गैर आवासीय नेपालीहरुले गर्दै आएको सहयोगको खुलेर प्रशंसा पनि गरे।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालको आर्थिक विकासमा उत्प्रेरकको भूमिका निर्वाह गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरे। उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पूर्वाधार विकासमा जोड दिन सरकारलाई पनि सुझाव दिए।

काँग्रेस नेता महतले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले संस्थागत क्षमता विकासको कामलाई पनि तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: २८ आश्विन २०७६ ११:४७ मंगलबार

डा._युवराज_खतिवडा जलविद्युत गैरआवासीय_नेपाली लगानी