अर्थ

एक वर्षमा सवा करोडको मुडा निर्यात

रसुवा - रसुवागढी नाकाबाट एक वर्षमा झण्डै सवा करोड मूल्यको ४९ हजारवटा बाँसको मुडा चीन निर्यात भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाका अनुसार गएको वर्ष ४९ हजार चार सय ५१ वटा मुडा चीन निर्यात भएको हो।    

नेपालमा बनेका बाँसको मुडाको माग चीनमा उच्च छ। चीनमा जाने मुडा कारागारहरूबाट संकलन गर्ने गरिएको व्यापारी मुकुन्द पौडेलले बताए। आर्थिक वर्ष २०७५÷७६ मा एक करोड २३ लाख ६२ हजार रुपैयाँभन्दा बढीको मुडा निर्यात भएको कार्यालयले जनाएको छ।

नेपालको विभिन्न स्थानमा बाँसबाट बनाइएको मुडा चीनतर्फ निर्यात हुने क्रम बढ्दै गएको छ। प्रतिमुडा दुई सय ५० रुपयाँमा बिक्री हुन्छ।  साउनमा चार हजार, भदौमा चार हजार ३६, असोजमा १५ सय, कात्तिकमा दुई हजार ५०, मंसिरमा ६ हजार नौ सय ५०, पुसमा २८ सय, माघमा १९ सय मुडा निर्यात भएको थियो।

त्यसैगरी, फागुनमा ४८ सय, चैतमा ७५ सय ५०, वैशाखमा नौ हजार ६५,  जेठमा ३९ सय ५० र असारमा आठ सय ५० मुडा चीन निर्यात कार्यालयले जनाएको छ। नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर चीनको ल्हासा, सिगात्से, न्यालम र धिंग्री लैजाने गरिएको छ।

सुनसरी, काठमाडौं र धादिङ कारागारमा उत्पादित मुडा लैजाने गरिएको छ। आर्थिक वर्ष २०७३÷७४ मा एक करोड २० लाख १५ हजार रुपयाँ बराबरको २१ हजार चार सय ५५ वटा र आर्थिक वर्ष २०७४÷७५ मा ३२ लाख २० हजार मूल्य बराबरको १२ हजार आठ सय ८० वटा मुडा निर्यात भएको कार्यालयको तथ्यांक छ।

यो नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यात हुँदै आएको छ। रसुवागढी नाका हुँदै अम्रिसोको कुचो, काठको क्यारझुल, ह्यान्डिक्राफ्ट, काठका विविध सामग्री, बाँसको नाङ्लो, बुद्धचित्त माला र रुद्राक्ष निर्यात हुने गरेको छ।

यो नाका हुुँदै सामग्री निर्यात हुने क्रम बढेको वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले बताए। ‘कृषि उपजको निकासी नभई यहाँका कृषकको र देशको कल्याण छैन,’ उनले भने, ‘यसका लागि उत्पादन प्रतिस्पर्धी बनाउनुपर्छ।’ यसका लागि विभिन्न निकायले सहयोग गर्नुपर्ने उनको सुझाव छ। चीनबाट सामग्री आयात गर्दा बिरुवा स्वस्थताको प्रमाणपत्र (फाइटोस्यानिटरी सर्टिफिकेट) अनिवार्य गरिएको छ।

प्रकाशित: २६ आश्विन २०७६ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App