अर्थ

म्याद गुज्रिन्छ, कालोपत्रे सकिन्न

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ (४६ किलोमिटर) सडकको कालोपत्रेको काममा ढिलाइ भएको छ। पाँच खण्डमा विभाजन गरेर २०७२ चैतदेखि कालोपत्रको काम थालिएको थियो।

रमन–गोल्डेन गुड जेभीले आर्थिक वर्ष २०७१÷०७२ मा दुई वर्षभित्र पूरा गर्ने गरी टेन्डर सम्झौता गरेको थियो। तर, अधिकांश सडक खण्डको काम निराशाजनक छ। म्याद गुज्रेका सडक खण्डको पुनः म्याद थपको प्रक्रिया अघि बढाइसकेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना पूर्वी खण्डको प्रमुख विजय चापागाईंले बताए।

करिब ९५ प्रतिशत काम पुरा भएको दिक्तेल–नेर्पा माम्खा खण्डको काम सक्नुपर्ने म्याद गत असारमै गुज्रिसकेको छ। गत जेठमै म्याद सकिएको माम्खा–दारुला खण्डको काम करिब ६५ प्रतिशत सकिएको छ। गत साउनमै म्याद सकिएको दारुला–पेलुङको काम पनि हालसम्म करिब ६५ प्रतिशत मात्र सकिएको छ। दारुला–पेलुङ खण्डको पहिलोपल्ट थप भएको म्याद आगामी पुसमा सकिँदैछ। सो सडक खण्डको काम आगामी जेठसम्ममा पूरा हुने पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना पूर्वी खण्डको प्रमुख चापागाईंले बताए।

यस्तै, भरतमैनचुली÷सिद्धिसाई जेभीले ठेक्का लिएको सेखुवा–चखेवाभञ्ज्याङको काम हालसम्म करिब ४० प्रतिशत सकिएको छ। यो खण्डको म्याद गत चैतमै सकिएको हो। सो खण्डको म्याद थप गरेर आगामी जेठसम्ममा कालोपत्रेका काम सक्ने तयारी भइरहेको जनाइएको छ।

दिक्तेल–माम्खा खण्डको काम भने अन्यको तुलनामा सन्तोषजनक देखिएको छ। नौ किलोमिटर खण्डमध्ये करिब एक किलोमिटरमा मात्र सेकेन्ड कोट हाल्न बाँकी रहेको आयोजनाले जनाएको छ। अन्य खण्डमा भने सब–बेस, बेस, स्ट्रक्चर लगायतका काम भइरहेको छ।

सडक कालोपत्रे भए, तर पुलको अत्तोपत्तो छैन

दिक्तेल–माम्खा खण्डमा कालोपत्रे भइसक्दा यसमा पर्ने तीनवटा खोलामा निर्माण गर्नुपर्ने पुलको अत्तोपत्तो छैन। यस खण्डको भालु खोला, मेवा खोला र छेपे खोलामा पुल हाल्नुपर्छ। पुलको डिजाइन नै नसकिएको चापागाईंले बताए। ‘दुई–तीन वर्षअघि सर्भे गरेपनि डिजाइन स्वीकृत भएको छैन,’ चापागाईंले भने, ‘डिजाइन पास हुने चरणमा छ। पास भएपछि पुल बन्छ।’

यस्तै, माम्खा–दारुला खण्डको भालु खोलामा निर्माण गरिने पुलको रि–डिजाइन स्वीकृत भएको छ। रि–डिजाइनका कारण पुल निर्माणको काम झण्डै वर्ष दिन धकेलिएको छ। यस्तै, दारुला–पेलुङ खण्डको पंखु खोलाको पुल ठेकेदारको कारण अलपत्र छ। दुई करोड २९ लाखमा सिरुवा कन्ट्रक्सनले जिम्मा लिएको काम डेढ वर्षदेखि अलपत्र छ। पुलको काम अलपत्र पारेको भन्दै १५ दिने सूचना प्रकाशन गरेपछि सिरुवाले प्रतिनिधि पठाएको मध्यपहाडी सडक आयोजना पूर्वी खण्डका इन्जिनियर दिपक खड्काले बताए।

दारुला–पेलुङ खण्डमा पर्ने लप्सेखोला र दाम्दे खोला, पेलुङ–सेखुवा खण्डको साप्सु खोलाको पुल भने तयार भइसकेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक तथा पुलको काममा भइरहेको ढिलासुस्ती तथा गुणस्तरका विषयमा प्रशासनले चासो देखाएको छ।

प्रतिनिधिसभा विशाल भट्टराई, प्रदेशसभा सदस्य उषाकला राई, रामकुमार राई, सडक विभाग, मध्यपहाडी लोकमार्ग योजना, निर्माण कम्पनी लगायतलाई एक ठाउँमा भेला गरेर प्रशासनले सडक तथा पुलको हालसम्मको प्रगतिका विषयमा सोधखोज गरेको छ।

सडक तथा पुलको कामलाई द्रुत गतिमा अघि बढाउनका लागि दबाब दिने उद्देश्यले बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए। कार्यक्रममा सांसदले गुणस्तर कायम गरी सडक तथा पुलको बाँकी काम तोकिएको समयमै पूरा गर्न ठेकेदारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: २६ आश्विन २०७६ ०२:५६ आइतबार

मध्यपहाडी_लोकमार्ग कालोपत्रे म्याद