अर्थ

‘सिको भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ’– मन्त्री भट्टराई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्दधनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन्।

उनले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपालमा चिनियाँ पर्यटकको निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरे। पर्यटनमन्त्री भट्टराईले २३ वर्षपछि चीनका राष्ट्र प्रमुखबाट हुन गइरहेको नेपाल भ्रमणले मुलुकको पर्यटन प्रवर्दधनका निम्ति महत्वपूर्ण अवसर भएको बताए। 

पर्यटनमन्त्री भट्टराईले विश्वको बलियो अर्थतन्त्र र विश्व महाशक्ति राष्ट्रका रुपमा उदाएको चीनले लिने कुनै पनि नीति, कार्यक्रम र अख्तियारीले विश्वलाई नै प्रभावित पार्ने स्थिति बनिरहेको सन्दर्भमा त्यस्तो मुलुकका राष्ट्र प्रमुखको नेपाल भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरे। 

‘विश्वको अर्थतन्त्रमा, विश्वको सामरिक क्षेत्रमा र विश्व पर्यटन प्रवर्दधनमा चीनको योगदान र भूमिका निर्णायक ठाउँमा पुगेको छ। त्यस्तो मुलुकको राष्ट्र प्रमुखको हैसियतले नेपालको भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय हो’ उनले भने, ’नेपालको तर्फबाट पटकपटक राष्ट्रप्रमुख र सरकार प्रमुखको चीनमा भ्रमण हुँदै आयो तर चीनको तर्फबाट यो तहको भ्रमण हुन सकेको थिएन अहिले भ्रमण हुनु हाम्रा लागि महत्वपूर्ण छ।’ 

नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ पर्यटन क्षेत्र हो भन्ने सरकारको दृष्टिकोण रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले नेपालको कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई वार्षिक १० प्रतिशत वृद्धि गर्ने लक्ष्य लिएको बताए।

‘अहिले कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान त्यति ठूलो छैन। करीब तीन प्रतिशत मात्र योगदान छ’ उनले भने, ‘हामीले १५औँ पञ्चवर्षीय योजनाको समाप्ति हुँदासम्म पर्यटन क्षेत्रको योगदानलाई १० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौँ।’

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको समयमा चीनबाट कम्तीमा पनि पाँच लाख पर्यटक नेपालमा भित्र्याउने मिसनका साथ काम गरिरहेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिको भ्रमणले उक्त उद्देश्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ। त्यसका लागि पर्यटन क्षेत्रका निश्चित ठूला बजारबाट पर्यटक आकर्षण गर्नुपर्ने हुन्छ।

मित्रराष्ट्र चीन नेपालको पर्यटनका लागि मुख्य गन्तव्य हो। त्यस्तै भारत अर्को महत्वपूर्ण गन्तव्य मानिन्छ। अन्य मुलुक पनि नेपालको पर्यटनका लागि मुख्य बजार हुन्। 

चीनबाट पछिल्ला वर्षमा नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ। सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका छन्। सन् २०१९ को आठ महीनाको अवधिमा अघिल्लो वर्षको तुलनामा करीब १० प्रतिशतले वृद्धि भएको छ। 

चिनियाँ पर्यटक खासगरी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायतका गन्तव्यमा बढी घुम्न रुचाएको तथ्याङ्कले देखाउँछ।

नेपाल बुद्धको जन्मभूमि हो। चीनमा भगवान् गौतम बुद्धलाई धेरै सम्मान गरिन्छ र बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी त्यहाँ भएकाले भ्रमणपछि लुम्बिनीमा चिनियाँ पर्यटकको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको पर्यटनमन्त्री भट्टराईले उल्लेख गरे। 

त्यस्तै केही महीना अगाडि नेपाल र चीनबीच भएको दुई पक्षीय हवाई सम्झौताबाट चीनका थप १५ वटा सहरबाट नेपालमा हवाई उडान गर्ने सहमति भएको छ।

सोहीअनुरुप नेपाल एयरलाइन्सले पनि ग्वोञ्जाओ र बेइजिङबाट उडान गर्ने तयारी गरिरहेको छ। यसबाट पनि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको छ। चीनबाट वार्षिक करीब १५ करोड चिनियाँ नागरिक विश्व भ्रमणमा जाने गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी नेपालको दुई दिवसीय राजकीय भ्रमणका लागि आज अपराह्न काठमाडौँ आउँदै छन्। रासस

प्रकाशित: २५ आश्विन २०७६ ०६:४९ शनिबार

योगेशकुमार_भट्टराई सी_चीनफिङ पर्यटन