अर्थ

दुई सय ४३ उद्योग खारेज

दमौली – घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका दुई सय ४३ उद्योग खारेज गरेको छ। कार्यालयले आव २०७५/७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार एक सय १५ मध्ये दुई सय ४३ उद्योग खारेज गरेको हो।

उद्योग सञ्चालनका लागि दर्ता गराए पनि लामो समयसम्म निष्क्रिय रहेका उक्त उद्योग खारेज गरिएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए। खारेज हुने उद्योगमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन्।

औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ। उद्योग खारेजी गर्न पनि उद्योग सञ्चालकले शुल्क तिरेर खारेजी गराउनुपर्ने प्रावधान रहेको छ। उद्योग खारेजी गर्दा प्रतिवर्षको पाँच हजार र नवीकरण गर्दा लाग्ने दस्तुरको तेब्बर दस्तुर तिरेर मात्र खारेजी गर्न सकिने प्रावधान छ।

कार्यालयमा कूल आठ हजार एक सय १५ उद्योग दर्ता भए पनि छ हजार ८९ उद्योग चालू अवस्थामा रहेका छन्। कार्यालय प्रमुख ढकालका अनुसार गत आर्थिक वर्षमा मात्रै जिल्लामा एक हजार एक सय ३५ उद्योग दर्ता भएको छ। उक्त अवधिमा उत्पादनमूलकतर्फ एक सय ४३, कृषि तथा वनजन्यतर्फ चार सय ९९, सेवामूलकतर्फ दुई सय ९५, पर्यटनमूलकतर्फ एक सय ९२, निर्माणतर्फ छ उद्योग दर्ता भएका छन्। दर्ता भएर सञ्चालनमा आएका घरेलु उद्योगमा  एक अर्ब सात करोड ३८ लाख ७५ हजार पाँच सय ५१ लगानी भएको कार्यालयले जनाएको छ।

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यतर्फ उद्योग दर्ता भएको छ। “कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ”, ढकालले भने।

जिल्लामा दर्ता भएका उद्योगमध्ये ८४ लघु, २३ घरेलु र एक हजार २८ साना उद्योग रहेका छन्। कार्यालयमा आर्थिक वर्ष ०७४/७५ मा सात सय ८८ उद्योग दर्ता भएको थियो। जसमध्ये एक सय ४६ लघु उद्योग, पाँच सय ९३ साना उद्योग र ४९ घरेलु उद्योग रहेका थिए।

कार्यालयका अनुसार दर्ता भएका उद्योगबाट वार्षिक एक अर्ब ४१ करोड दुई लाख २१ हजार नाै सय २० रूपैयाँ बराबरको वस्तु उत्पादन हुन्छ। ती उद्योगमा एक हजार दुई सय ८४ महिला र एक हजार नाै सय ९५ पुरुष गरी तीन हजार दुई सय ७९ जनाले रोजगारी पाएका छन्। उद्योग दर्ताबाट तिन सय सात  महिला र नाै सय २५ पुरुष गरी एक हजार दुई सय ३२ जना उद्यमी बनेका छन्।

कार्यालयले उद्योग दर्ताबापत आर्थिक वर्ष ०७५/७६ मा एक करोड ५९ लाख ३० हजार  चार सय ७२ रूपैयाँ  राजश्व सङ्कलन गरेको छ। दर्ता भएको एक हजार एक ३४ मध्ये सात सय ३० उद्योगले नवीकरण, ६७ उद्योगले नामसारी, नौ उद्योगले ठाउँसारी, ३८ उद्योगले उद्देश्य थप, ६० उद्योगले लगत कट्टा गरेका छन् भने एक सय दुई  उद्योगले प्रतिलिपि र ५० उद्योगले पूँजीवृद्धि गरेका छन्।

एक लाख रूपैयाँसम्म पूँजी भएको उद्योगले  एक हजार एक सय, तीन लाख रूपैयाँसम्म पूँजी भएकोले  तीन हजार एक सय रूपैयाँ,  पाँच लाख रूपैयाँसम्म पूँजी भएकोले  छ हजार एक सय रूपैयाँ, ५० लाखसम्म पूँजी भएकोले  १२ हजार एक सय रूपैयाँ,  एक करोड रूपैयाँसम्म पूँजी भएकोले  २० हजार एक सय, पाँच करोड रूपैयाँसम्म पूँजी भएकोले  ३० हजार एक सय रूपैयाँ र पाँच करोड रूपैयाँभन्दा माथि पूँजी भएको उद्योगले ५० हजार ११० रूपैयाँ दर्ताबापत शुल्क बुझाउनुपर्छ।रासस

प्रकाशित: २३ आश्विन २०७६ ११:१४ बिहीबार

उद्योग खारेज