अर्थ

म्याद नाघेका खाद्य सामग्री नष्ट

दिक्तेलमा म्याद नाघेको उपभोग्य सामान जलाउँदै प्रहरी। तस्बिर : दमन राई/नागरिक

खोटाङ – दसैं–तिहार नजिकिँदै गर्दा खोटाङमा म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ। जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, कर कार्यालय, उद्योग वाणिज्य संघ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र प्रहरीको संयुक्त अनुगमन टोलीले दिक्तेलबजारका पशलबाट १६ हजार दुई सय ३० रुपैयाँ बराबरको खाद्य सामग्री नष्ट गरिएको हो।

बुधबार दिक्तेल बजारका एक सय पाँच पसलमा अनुगमन गरिएकामा चारवटा पसलबाट अधिक मात्रामा म्याद गुज्रेका डिउ, बिस्कुट, कुरमुरे, चकलेट, पेप्सी, खाने तेल, जुस, मिरिन्डालगायत खाद्य सामग्री फेला गरेको अनुगमनमा खटिएका कर कार्यालयका प्रमुख गोपाल राईले बताए। ६/७ वटा पसलमा भने फाट्टफुट्ट रुपमा म्याद नाघेको उपभोग्य सामग्री फेला परेको थियो।

संयुक्त अनुगमन टोलीका अनुसार दुई हजार रुपैयाँ बराबरको डिउ (सानो बोतल), एक हजार ६ सय बराबरको १२ पिस बिस्कुट, आठ सय बराबरको ४० पिस कुरमुरे, चार हजार आठ सय बराबरको जम्बो डिउ, तीन सय ६० बराबरको तीन बट्टा चकलेट, तीन हजार दुई सय बराबरको १६ पिस पेप्सी (ठूलो बोतल), एक हजार पाँच सय ५० बराबरको एक कार्टुन खाने तेल, नौ सय ६० बराबरको एक दर्जन बदाम जुस र नौ सय ६० रुपैयाँ बराबरको मिरिन्डा (सानो बोतल) जफत गरिएको छ। बजारमा जफत गरिएका म्याद नाघेका सामग्री नगरपालिकाको परिषरमा नष्ट गरिएको छ।

दशैं तिहारको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि संयुक्तरुपमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अनुगमन गरिएकामध्ये ८० वटा पशल दर्ता गरिएको २५ वटा पशल बीना दर्ता सञ्चालन गरिएको पाइएको कर अधिकृत राईले बताए। केही समयअघि मात्र नगरपालिकाले पनि बजार अनुगमन गरेको थियो।

बेला–बेलामा बजार अनुगमन भएपनि बजारमा म्याद गुज्रेका सामान आउन छाडेको छैन। सदरमुकाम लगायतका मूख्य व्यापारिक नाकाबाहेक गाउँ/गाउँका पसलमा बढि मात्रामा म्याद नाघेका खाद्य पदार्थ पाईने अनुमान गरिएको छ।

प्रकाशित: १६ आश्विन २०७६ ०२:४० बिहीबार

म्याद_नाघेका खाद्य_सामग्री