अर्थ

प्रभु हेलिकप्टरलाई प्राधिकरणकाे निर्देशन

खोटाङ – प्रभु हेलिकप्टर प्रालिले अधिक चार्टर शुल्क मागेको भन्दै उजुरी परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले जवाफदेही बन्न र कमजोरी नदोहो-याउन निर्देशन दिएको छ।

खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका प्रेम सुवेदीलाई हेलिकोप्टरबाट काठमाडौं लैजान चार्टर गर्न खोज्दा प्रभु हेलिकप्टर प्रालिका कर्मचारीले तीन लाख १५ हजारबाट बार्गेनिङ गरेर दुई लाख ८५ हजार शुल्क माग गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेपछि प्राधिकरणले मानवीय संवेदनशिलतासम्बन्धी सूचना प्रवाह गर्दा जिम्मेवारी बन्न र आगामी दिनमा कमजोरी दोहोरिए कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो।

मन्त्रालयले छानबिनका लागि गत साउन १९ गते पठाएको पत्रको आधारमा प्राधिकरणले प्रभु हेलिकप्टर प्रालिलाई ‘एक्सन’ लिएको हो। प्राधिकरणले साउन २७ गते सोधेको स्पष्टीकरणको जवाफ प्रभुले साउन ३० गते दिएको थियो। प्रभुको स्पष्टीकरण र उजुरीकर्ताको भनाईका आधारमा हेलिकप्टर चार्टर भाडासम्बन्धी गलत सूचना प्रवाह हुँदा बिरामीको उद्दार र उपचारमा ढिलाइ हुन गएको र यसबाट झेल्नु परेको कठिनाइका कारण सेवाग्राहीबाट उजुरी परेको देखिएको प्राधिकरणले प्रभुलाई पठाएको पत्रमा उल्लेख छ।

दुई लाख ८५ हजारभन्दा कम शुल्कमा बिरामी बोक्न नजाने भनेपछि खोटाङ सेवा समाज काठमाडौंका सचिव बाजिन्द्र बिष्टले प्रभु हेलिकप्टर प्रालिविरुद्ध गत असार १८ गते उजुरी दिएका थिए।

प्रभु हेलिकप्टर प्रालिले बढी शुल्क मागेपछि बिरामी सुवेदीलाई एक लाख ९५ हजार तिरेर अर्को कम्पनीको हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। त्यसभन्दा हप्ता दिन अगाडि जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका बिरामी मञ्जु कार्कीलाई एक लाख ८५ हजारमा काठमाडौं लगेको प्रभु हेलिकप्टर प्रालिले हप्ता दिनपछि नै बढी शुल्क मागेको कांग्रेस नेता रहेका बिष्टले बताए। ‘फोन गर्दा सुरुमा तीन लाख १५ हजार मागियो। पछि दुई लाख ८५ हजारभन्दा कममा उडाउन नसकिने जवाफ आयो,’ बिष्टले भने, ‘नागरिकलाई ठग्ने र बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने काम भएकाले सञ्चालकमाथि उजुरी हाल्न बाध्य भएँ।’

नेपाल सरकार मन्त्रीस्तरको ०७२ चैत ७ गतेको निर्णयअनुसार दुर्गम क्षेत्रमा रहेका नागरिकका लागि ‘आर ४४’ समूहका हेलिकप्टर चार्टर दर प्रतिघण्टा एक हजार अमेरिकी डलर निर्धारण गरिएको छ।

प्रकाशित: १४ आश्विन २०७६ ०१:२६ मंगलबार

हेलिकप्टर चार्टर