अर्थ

बाँकेका महिलाले पाँचहजार खसी राजधानी पठाउँदै

बाँके– बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन्। दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन्। 

मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिकरुपमा काठमाडौँ तथा अन्य शहर पठाउन थालिएको हो।

दशैँ र तिहारलाई लक्षित गरी विभिन्न सहकारीमा आबद्ध महिलाले पाँच हजार खसीबोका काठमाडौँ लगायतका अन्य शहरमा पठाउन लागेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेकी अध्यक्ष गङ्गा चन्द ठकुरीले जानकारी दिए।

केही व्यवसायीले बजारमा कृत्रिम अभावको अवस्था सृजना गरेर भारतीय खसीबोका भित्र्याउने चलखेल गरेको भन्दै अध्यक्ष ठकुरीले भने,‘यो दशैंमा हामी पाँच हजार खसीबोका बिक्री गर्दैछौँ।’

उनले उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आबद्ध बाँकेका १५ र बर्दियाका चार वटा सहकारीका सात हजारभन्दा बढी सदस्य महिलाले उत्पादन गरेका चार हजार खसीबोका काठमाडौँ र एक हजार नेपालगञ्ज, बुटवल, तुलसीपुरलगायतका शहरमा पठाउन लागिएको जानकारी दिए।  रासस

प्रकाशित: १२ आश्विन २०७६ ०७:२७ आइतबार

दशैँ खसीबोका