अर्थ

तातोपानीबाट भेडाच्याङग्रा भित्रन थाले

सिन्धुपाल्चाेक- एक साता कारोबार बन्द भएर शुक्रबार व्यापार खुलेकै दिन एक हजार एक सय भेडाच्यांग्रा तिब्बतबाट तातोपानी ल्याइपुर्याइएको छ। सिन्धुपाल्चोक–उत्तरको मुख्य तातोपानी नाकाबाट दसैँ, तिहारका लागि भेडाच्यांग्रा नेपाल भित्रन थालेका छन्।

खासाको रमिते क्षेत्रमा चर्केको बाटो मर्मत गर्न चीनले एक साता कारोबार रोकेको थियो। सडक मर्मत सकिएपछि कारोबार सञ्चालनमा आएको तातोपानी सुख्खाबन्दरगाह भन्सारका अधिकृत केशवराज ओलीले बताए। ‘सामाग्री लिन कन्टेनर भ्यानहरु धमाधम खासा गइरहेका छन्,’ उनले भने।

नेपाली व्यवसायीले ल्याएका भेडाच्यांग्रा बिहीबार साँझ खासा क्षेत्र आइपुगेका थिए। नाकाबाट भेडाच्यांग्रा छुटाउन भन्सार प्रक्रिया थालिएको छ। सुख्खा बन्दरगाह भन्सारले प्रतिगोटा भेडाच्यांग्राको ५० अमेरिकी डलर मूल्यांकन कायम गरेर जाँचपास सुरु गरेको अधिकृत ओलीले बताए।

मूल्यांकनको १० प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर तिरेर व्यापारीले भेडाच्यांग्रा छुटाइरहेका छन्। ‘दसैँअघिसम्म भेडाच्यांग्रा आउने छन्,’ व्यापारीको भनाइ उद्धृत गर्दै उनले भने। 

मालबाहक कन्टेनर आजतवाजत गर्ने प्रयोजनका लागि सञ्चालनमा ल्याइएको नाकाबाट नेपाल–चीन मानवीय आवागमन भने बन्दै छ । नेपाली व्यापारीको अर्डरपछि चिनिँया पक्षले सीमासम्म भेडाच्यांग्रा ल्याइ दिएका हुन्।

तिब्बतको कुतीबाट चिनियाँले मितेरी पुल ल्याएका भेडाच्यांग्रा त्यहाँबाट नेपाली व्यापारीले बुझेका थिए। उनीहरुले बैँकमार्फत अग्रिम भूक्तानी पठाएका थिए। सामाग्रीको काम गर्ने भरिया र कन्टेनरका चालक, सहयोगीलाई मात्र खासासम्म जाने अनूमति छ।

अध्यागमन कार्यालयले उनीहरुका लागि प्रवेश पास जारी गर्दै आएको छ। हालसम्म करिव अढाइ सयले मात्र प्रवेश पास पाएका छन्। भूकम्पपछि चार वर्ष बन्द रहेको तातोपानी नाका गत जेठ १५ गतेबाट पुनः सञ्चालनमा ल्याइएको थियो।

असार पहिलो साताबाट सुरु आयात व्यापारमा क्रमिक सुधार आइरहेको भन्सारले जनाएको छ। सामाग्री आयातबाट भन्सारले साउनयता मात्रै १० करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार तथ्यांक छ।

स्याउ, नासपाति लगायत कृषि उपज, तयारी पोशाक र इलेक्ट्रोनिक्स सामाग्री नाका भएर आयात हुन थालेका छन् । बिगतमा तातोपानी नाका तयारी पोशाकका लागि चर्चित मानिन्थ्यो।

नाकाबाट भित्रने सामाग्रीको झण्डै आधा हिस्सा तयारी पोशाकले ओगट्थ्यो। बर्खाको मुखमा नाका खुलेकाले व्यापारीले दसैँ, तिहार लक्षित तयारी पोशाक निकै कम मात्रामा अर्डर गरेका छन्। 

प्रकाशित: १० आश्विन २०७६ १४:०५ शुक्रबार

भेडाच्यांग्रा तातोपानी_नाका