अर्थ

एटिएम बुथमा सुरक्षा गार्ड अनिवार्य

काठमाडौं – बैंकिङ प्रणाली ह्याक गर्ने चोरहरुले एटिएम बुथबाट पैसा निकाल्न थालेपछि केन्द्रीय बैंकले एटिएम बुथमा सुरक्षा गार्ड राख्न बैंक, वित्तीय संस्थालाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकको निर्देशनसँगै बैंक, वित्तीय संस्थाले अब आफ्नो एटिएम बुथमा एकजना सुरक्षा गार्ड अनिवार्य राख्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक विज्ञप्ति जारी गरी भुक्तानी सेवा प्रदायक बैंक, वित्तीय संस्थालाई अनिवार्य रुपमा २४सै घन्टा सुरक्षा गार्ड राख्न निर्देशन दिएको छ।

केही दिनअघि चिनियाँ नागरिकले विभिन्न बैंकका एटिएमबाट साढे तीन करोडभन्दा बढी रकम निकालेपछि एटिएम बुथमै सुरक्षाकर्मी खटाउनुपर्ने आवश्यकता महसुस गरिएको हो।

त्यसैगरी, भुक्तानीसम्बन्धी कारोबार गर्ने हरेक संस्थालाई सूचना प्रविधिका लागि आकस्मिक सहायता समूह गठन गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाको प्रणालीमा शंकास्पद गतिविधि भए तुरुन्त राष्ट्र बैंकलाई जानकारी गराउन पनि निर्देशन दिएको छ।

आज एनएमबी र ओम बैंक बन्द हुने
एकआपसमा गाभिने भएपछि एनएमबि र ओम डेभपलमेन्ट बैंक शुक्रबार बन्द हुने भएका छन्। ओम डेभलपमेन्ट र एनएमबिको बैंकको तथ्यांक कोर बैंकिङ सफ्टवेयरमा लानुपर्ने भएकाले कारोबार बन्द गरिएको हो।

असोज ११ गतेबाट एकीकृत कारोबार सुरु गर्ने योजनमा रहेका दुवै बैंकले शुक्रबारका दिन इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएम–पिओएस रेमिटेन्सलगायत सम्पूर्ण बैंकिङ सेवा बन्द हुने जनाएका छन्।

प्रकाशित: १० आश्विन २०७६ ०३:३८ शुक्रबार

एटिएम_बुथ सुरक्षा_गार्ड