अर्थ

१६ अर्बको लगानी प्रतिबद्धता

बुटवल – झन्डै ५० अर्बको लगानी भित्र्याउने लक्ष्य लिइएको तिलोत्तमा लगानी सम्मेलनमा बिहीबार १६ अर्बको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनका क्रममा बिहीबारसम्म ३० वटा परियोजनाका प्रस्ताव आएका छन्। तीमध्ये २४ वटाको आसयपत्र खोलिएको छ। सबै आशयपत्र खोल्दा लगानी प्रतिबद्धता बढ्ने अपेक्षा आयोजकको छ। सम्मेलनका क्रममा दुईवटा परियोजनाको एमओइ भएको छ भने १० वटा परियोजनामा लगानीकर्ता र नगरपालिकाबीच प्रारम्भिक सम्झौता भएको छ।

अन्तर्राष्ट्रिय विकास साझेदार संस्था युकेएड र नगरपालिकाबीच बिहीबार सीप र रोजगार प्रवद्र्धन कोष स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको हो। त्यस्तै विपन्न, द्वन्द्धपद्वडित, सिमान्तकृत, अलपसंख्यक, दलित, विपन्न महिला तथा वैदेशिक रोजगारबाट फर्केकालाई स्वरोजगार बनाइ उनीहरुको आर्थिक विकासमा टेवा पु-याउन नेपाल बैंक लिमिटेडले नगरपालिकाको सिफारिसमा सहुलियत कर्जा प्रदान गर्ने सम्झौता पनि गरिएको छ। सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा दिइने कर्जाको ब्याजदर दुई–दुई प्रतिशत मात्रै कायम गर्ने उल्लेख छ। सम्मेलनमा यी बाहेकका १० वटा परियोजनामा लगानीकर्ता र नगरपालिकाबीच लगानीको प्रारम्भिक सम्झौता भएको नगरपालिकाले जनाएको छ।

कृषिलाई पर्यटनसँग जोड्ने परियोजनाको रुपमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना अगाडि बढाउने प्रारम्भिक सम्झौता गरिएको छ। यो योजना तिलोत्तमाको वडा नं ११ मा सञ्चालित हुनेछ। त्यस्तै द्वारिका उदय इन्टरटेनमेन्ट प्रालिले मिनी नेपाल नामक परियोजनाका लािग डेढ अर्बको प्रारम्भिक सम्झौता गरेको छ। बाटा रिर्सोट प्रालिले एक अर्ब ६० करोडमा होटल खोल्ने प्रारम्भिक सम्झौता गरेको छ। लियन क्राष्ट पोखराले लाउन्ड्री सर्भिस प्रोजेक्टमा पाँच करोड लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

रिडी हाइड्रो पावर डेभलप्मेन्ट कम्पनीले सौर्य ऊर्जामा करिब ८० करोड लगानी प्रतिबद्धताको प्रारम्भिक सम्झौता गरेको छ। लुम्बिनी स्पेसलाइस्ट कोअपरेसन लिमिटेडले एकीकृत दुग्घ संकलन तथा प्रशोधन केन्द्रमा लगानी गर्ने भएको छ। यो परियोजना वडा न ६ मा सञ्चालन हुनेछ। अन्नपूर्ण एग्रो, स्मार्ट एएसी नेपाल, उत्तम एग्रो प्रोडक्सन, सन आउटडोर प्रालिले पनि लगानी प्रतिबद्धता जनाएका छन्।

त्यस्तै तिलोत्तमा क्यान्सर अस्पताल, तिलोत्तमा रिङरोड रेल्वेजस्ता परियोजनामा समेत लगानीकर्ताले चाँसो देखाएका छन्। निजी क्षेत्रले विभिन्न २० परियोजना प्रस्ताव गरेका छन्। प्रस्तावित परियोजनामा स्वदेशी लगानी रहने उल्लेख छ। लगानी सम्मेलनपछि तोकिएको अवधिसम्म आउने परियोजनाका लागि विभिन्न कर छुटको अफर गरिने नगरप्रमुख बासुदेव घिमिरेले बताए। स्थानीय तहले आयोजना गरेको यो देशकै पहिलो लगानी सम्मेलन हो।

सम्मेलनमा चीन र भारतका करिब ५० लगानीकर्ता सहभागी भएको नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले बताइन्। सम्मेलनमा निजी क्षेत्रका औद्योगिक, व्यावसायिक तथा व्याापरिक संघसंस्था तथा प्रतिष्ठानका व्यक्तिहरु गरी करिब पाँच सयको सहभागिता थियो। सम्मेलनका क्रममा लगानी प्रवद्र्धन र सम्भावनाबारे विषयगत तथा समूहगत छलफल गरिएको थियो।

प्रकाशित: १० आश्विन २०७६ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App