अर्थ

रङले घरमा चमक

मेकअप र लवाइले व्यक्तित्व झल्किएजस्तै रङरोगनले घरमा चमक आउँछ। हरेक व्यक्तिले आफ्नो गेटअपमा जति ध्यान दिन्छ । आफू बस्ने घर तथा अफिस पनि आकर्षक होस् भन्ने चाहन्छ।

निजी घर, सरकारी अफिस, सार्वजनिक भवन, मठमन्दिर, पुल पनि आकर्षण हुन् भन्ने सबैको चाहना हुन्छ । ठूलो धनराशि खर्च गरेर घर, अफिसलगायतका भौतिक संरचना निर्माण गरेर मात्र पुग्दैन। तिनलाई सुन्दर बनाउन रङरोगन गर्नु पनि आवश्यक छ। दसैं नजिकिँदै जाँदा अहिले पेन्टस् व्यवसाय पनि फस्टाएको छ। 

चाडबाड सुरु भएपछि पेन्टस्को व्यापार बढेको प्रमोद ट्रेडर्सका सन्तोष रिजालले बताए। ‘दसैंमा सबैले घरमा रङ लगाउने भएकाले बिक्री बढेको छ,’ रिजालले भने, ‘पेन्टस्को व्यापार फस्टाएको छ।’ हरेक व्यक्तिले आफ्नो घर आकर्षक बनाएर सामाजिक प्रतिष्ठा बढाउन चाहन्छ।

दसैं–तिहारमा सबैले रङरोगन गर्ने भएकाले यो सिजनमा रङको माग बढेको छ। दसैंमा नयाँ लुगा लगाएजस्तै घर पनि रङरोगन गरेर नयाँ बनाइन्छ। समाजमा आफ्ना घर चिटिक्क पार्न एक प्रकारको प्रतिस्पर्धा नै चल्छ। 

ग्रामीण क्षेत्रमा विगतमा घरेलु रङ तयार गरेर झ्याल, ढोका, बार्दलीमा लगाउने गरेकोमा अहिले रङ नै लगाउन थालेका छन् । रूखका बोक्राबाट बनाउने रङभन्दा बजारमा पाइने इनामेल (रङ) सस्तो र सजिलो हुने भएपछि सबैको रोजाइमा उद्योगमा तयार हुने रङ परेका छन्।

बढ्दो सहरीकरणसँगै सहरी मात्र नभएर ग्रामीण क्षेत्रमा पनि घर पक्की बनाउने, कच्ची घरमा पनि प्लटर गर्ने प्रचलनको विकास भएकाले रङको खपत बढेको छ। विगतमा घर रंगाउन रातो माटो र कमेरो (सेतो माटो) लगाउनेले अहिले विभिन्न प्रकारका रङ लगाउन थालेका छन्।

आफू बस्ने घर सबैले आकर्षक होस् भन्ने चाहन्छ। घरको साजसज्जासँगै रङरोगनको महत्वपूर्ण हुने भएकाले सबैले प्राथमिकता दिन्छन्। आफ्नो घरभित्र पसेपछि डाइनिङ, किचन, बेडरुममा प्रयोग गरेको रङले आनन्दानुभूति हुनुपर्छ। त्यसका लागि आफ्नो रुचिअनुसारको रङ प्रयोग गर्न सकिन्छ। 

हरेक वर्ष रङ तथा पेन्टस्को खपत बढ्दै गएको छ। नेपाल रङ उत्पादक संघका अनुसार नेपालमा वार्षिक सवा आठ अर्ब रुपैयाँको पेन्टस् बिक्री हुन्छ। स्वदेशी तथा विदेशी उद्योगले नेपाली बजारमा रङ बिक्री गर्दै आएको छ । केएनपी, बर्जर, पशुपति, शालिमार, एसिएन, जस्मिन, महालक्ष्मी, नेरोल्याक, इन्दे्रणीलगायतका पेन्टस् कम्पनीले बजारमा वर्चश्व जमाएका छन्।

नेपाल नापतौल तथा गुणस्तर विभागका अनुसार पेन्टस्को गुणस्तर अनुसार ए, बी र सी ग्रेडमा विभाजन गरिएको छ। वर्षा सकिएपछि सहरी क्षेत्र मात्र नभएर ग्रामीण क्षेत्रमा माटोले बनाएका घर पनि लिपपोत गरेर चिरिच्याट्ट पारिन्छ। वर्षामा हावाहुरी, पानीले खुइल्याएका घरका बाहिरी भाग दसैंको पूर्वसन्ध्यामा रंगाइन्छ। 

पुरानो घरलाई लिपपोत, रङरोगनले सिँगारपटार गरेर नयाँ देखिने भएकाले दुई–दुई वर्षमा रङ लगाउने गरेको शान्ताराम खरेलले बताए। ‘पेन्टस्ले घरलाई चम्किलो र आकर्षण देखाउँछ,’ वनस्थलीको एक पसलमा रङ किन्दै गरेका खरेलले भने, ‘दुई–दुई वर्षमा रङरोगन गर्छु।’

कतिपय ठाउँमा त समुदायले नै एकै प्रकारको रङ तोकेर गाउँलाई नै आकर्षक बनाएका उदाहरण पनि छन्। प्रतिस्पर्धा बढेसँगै कम्पनीले थरिथरिका पेन्टस् बजारमा ल्याएका छन्। कम्पनीले गुणस्तरलाई पनि ध्यान दिएका छन्। पेन्टस्मा प्रयोग गर्ने केमिकल र गन्धमा पनि ध्यान दिएका छन्। 

‘मानव स्वास्थ्यमा असर नपुग्ने केमिकल प्रयोग गर्छौं,’ उनले भने, ‘प्रतिस्पर्धी बजारमा सबै सन्तुलन मिलाउनुपर्छ।’ रङ लगाएपछि पानीले पनि नपखालिओस् भनेर टिकाउलाई पनि ध्यान दिइएको हुन्छ। आफ्नो रुचिअनुसारको रङ प्रयोग गर्छन्। रङ आफैंमा प्रतीक भएकाले पनि त्यसमा ध्यान दिने गरिन्छ। 

 

प्रकाशित: ९ आश्विन २०७६ ०८:०३ बिहीबार

रङरोगन दसैं–तिहार