अर्थ

कृषिलाई पछि पर्न दिन्नौं : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको विकासमा सरकारले सहयोग गर्ने बताएका छन्। ओलीले कृषि क्षेत्रलाई पछि पर्न नदिने प्रतिबद्धता जनाए। नेकपानिकट अखिल नेपाल किसान महासंघको पहिलो केन्द्रीय कमिटीले बुधबार राजधानीमा आयोजना गरेको शपथग्रहण कार्यक्रममा ओलीले यस्तो धारणा राखेका हुन्। ‘अब कृषिलाई यसैगरी पछाडि पर्न दिन्नौं,’ प्रधानमन्त्री ओलीले भने, ‘उत्पादन बढाउने कृषिका कार्यक्रम सञ्चालन गरेका छौं।’

प्रधानमन्त्रीले यस्तो दाबी गरे पनि विदेशबाट बर्सेनि अर्बौं रुपैयाँका कृषि तथा पशुजन्य वस्तु आयात भइरहेको छ। कृषि उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु गरेको पनि उनले बताए। ‘जमिनको कुनै टुक्रो खालि नहोस् भन्ने हाम्रो चाहना छ,’ ओलीले भने, ‘कृषिको आधुनिकीकरण गर्न उक्त परियोजनाले सघाउँछ।’

ओलीले किसान नेताका बारीमा पनि कृषि कर्म हुनुपर्ने बताए। ‘नेताका बारीमा ठूला घोगा मकै, टमाटर फल्नु पर्छ,’ उनले भने। प्रधानमन्त्रीले आफू हलो जोतेर यहाँसम्म आएको पनि स्मरण गरे। ‘म किसानका समस्याबारे जानकार छु,’ उनले भने, ‘म आफैं हलो जोतेर आएको मान्छे हो।’

प्रधानमन्त्री ओलीले जमिनलाई अब चाक्लाबन्दी वा सामूहिक खेतीमा प्रयोग गर्नुपर्ने बताए। ‘एकै प्रकारको ठाउँमा ठूलो मात्राको उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘नत्र भने कृषि उत्पादन वृद्धि गर्न सक्दैनौं।’ सरकारले प्राविधिक सहायता, समयमा मलखाद, उन्नत जातको बीउबिजनमा सघाउने बताए। ‘रोगव्याधीको रोकथाममा पनि ध्यान दिन्छौं,’ उनले भने।

अब कृषि सहकारीमार्फत उत्पादन बढाउनुपर्ने प्रधानमन्त्री ओलीले बताए। ‘एक ठाउँमा एउटा बालीमा फोकस गर्नुपर्छ,’ उनले भने, ‘कम से कम हजार, दुई हजार बिघामा खेती गरेर उत्पादन बढाउनु पर्छ।’ थोरै उत्पादन गर्दा बजारको समस्या हुने भन्दै ट्रकमा बिक्री गर्न पठाउने गरी उत्पादन गर्नुपर्ने उनले बताए। धेरै उत्पादन गरे बजार पाउने र किसानले पनि राम्रो आम्दानी गर्ने ओलीको भनाइ छ।

सरकारले कृषिमा अनुदान र राहत उपलब्ध गराएको पनि उनले स्मरण गरे। ‘सरकारले कृषि औजार तथा मलखादमा अनुदान दिएको छ,’ उनले भने, ‘सम्पूर्ण क्षेत्रमा अनुदानमा मात्रै वितरण गर्न सम्भव हुँदैन, किसानले पनि लगानी गर्नु प-यो।’

सरकारले ऊखुमा प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान दिएको जानकारी गराए। धान, गहुँभन्दा बढी उत्पादन र किसानले लाभ पाउने भएकाले उखुमा अनुदान दिएको प्रधानमन्त्रीको भनाइ छ। व्यावसायिक रुपमा खेती गर्ने किसान सचेत हुनुपर्ने ओलीको धारणा थियो। कृषि बजारका लागि सरकारले प्रमुख सहरमा कृषि बजार केन्द्र स्थापना गरेको बताए। ‘कृषि बजारमा किसानले उत्पादन गरेको वस्तु बिक्री गर्न सक्छन्,’ उनले भने, ‘कृषिजन्य वस्तु खेर जानु हुँदैन।’

प्रकाशित: ९ आश्विन २०७६ ०१:१६ बिहीबार

केपी_शर्मा_ओली कृषिको_विकास