अर्थ

सहुलियत दरमा चामल बिक्री गर्न सुरु

गोरखा– नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न शुरु गरेको छ। गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालाई लक्षित गरी संस्थानको कार्यालय पाटेचौरबाट सहुलियदरमा चामल बिक्री गर्न शुरु गरेको हो।

संस्थानका गोरखा शाखा प्रमुख नवीन बस्नेतका अनुसार असोज २ गतेदेखि जिल्लामा सहुलियतको चामल बिक्री सुरु भएको हो। ‘निणर्य छिटो गरेको भए पनि खाद्य संस्थानको केन्द्रीय कार्यालयबाट चामल मगाउनुपर्ने भएकाले तीन/चार दिन ढिलो गरि बिक्रि शुरु गरेका हौ’ उनले भने, ‘दशै तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेको बिक्री शुरु गरिएको हो।’

 उनले आउँदो कात्तिक १६ गतेसम्म संस्थानको कार्यालयबाट उपभोक्तालाई सहुलियतमा चामल बिक्री गरिने जानकारीसमेत दिए। 

‘यो वर्ष चाडपर्वका लागि सहुलियतमा बिक्री गर्न तत्कालका लागि २१० क्वीन्टल चामल केन्द्रीय कार्यालयबाट स्वीकृत प्राप्त भएको छ’, प्रमुख बस्नेतले भने, ‘निर्धारित कोटाले अपुग भए थप चामल मगाउन सकिन्छ।’ 

संस्थानले अहिले जिरा मसिनो र सोना मनसुली गरी दुई थरीको चामलमा प्रतिकिलो पाँच रुपौयाँ छुट दिएर बिक्री गरेको छ। 

‘प्रतिकिलो ४४ रुपैयाँमा बिक्री गर्दै आएको सोना मनसुली अहिले प्रतिकिलो ३९ रुपैयाँ र प्रतिकिलो ६० रुपैयाँको जिरा मसिनो प्रतिकिलो ५५ रुपैयाँमा बिक्री गरेका छौं’ प्रमुख बस्नेतले भने। रासस

प्रकाशित: ७ आश्विन २०७६ ०८:२६ मंगलबार

सहुलियत खाद्य_संस्थान चामल