अर्थ

एक साताभित्र व्यावसायिक उत्पादन

रसुवा – माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले एक साताभित्र व्यवसायिक उत्पादन सुरु गर्ने भएको छ। निर्माण सु्रु भएको साढे आठ वर्षपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्न लागेको हो।

आयोजनाले दुई महिना अघिदेखि उत्पादन सुरु गरेको थियो। उत्पादन सुरु गरे पनि विभिन्न परीक्षणको काम बाँकी रहेकाले आयोजनाले टेकिङ ओभर सर्टिफिकेट दिएको थिएन। आयोजनाका अनुसार टोटल लोड रिजेक्सन टेस्ट, टनेलको मनिटरिङ, इफिसेन्सी टेस्ट, हाइ भोल्टेज टेस्टलगायत टेस्ट सकिएको छ।

यो साताभित्र निर्माण कम्पनीलाई सर्टिफिकेट दिने तयारी रहेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए। ‘परीक्षण कार्य सकाएका छौं,’ उनले भने, ‘परफरमेन्स टेस्टको प्रतिवेदन आउन बाँकी छ।’ प्रतिवेदन आएपछि आयोजना, ठेकेदार र परामर्शदाताले संयुक्त रूपमा निरीक्षण गर्ने छन्।

निरीक्षणको काम सकिएपछि आयोजनाले सर्टिफिकेट प्रदान गर्ने छ। व्यावसायिक उत्पादन सुरु भएपछि एक वर्षसम्म त्रुटी सच्याउने अवधि हुन्छ। ६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् गत जेठ ३ गते र दोस्रो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् साउन १७ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो।

आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहने छ। दुवै युनिटबाट ३०–३० मेगावाट विद्युत् उत्पादन हुन्छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत् गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो। आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो। आयोजनाको निर्माण ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) ले गरेको हो।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न सिजिजिसीसँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो।

आयोजना २०६८ वैशाखदेखि निर्माण सुरु भएको थियो। भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो। भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु-याएको थियो। आयोजना निर्माण सम्पन्न गर्नका लागि १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च हुने छ।

आयोजनाबाट उत्पादन भएको विद्युत् थ्री बी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रसारण लाइनमार्फत लगिएको छ। जसमा पावर हाउस (सिम्ले) देखि थ्री बी हबसम्म १३२ केभी, थ्री बी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ।

प्रकाशित: ७ आश्विन २०७६ ०३:०३ मंगलबार

त्रिशूली_थ्री_‘ए’ जलविद्युत् उत्पादन