अर्थ

सस्तो तामाकोसी ५ लाई लगानी जुटेन

काठमाडौं – तामाकोसी ५ जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन भएको दुई महिना बिते पनि सरकारले लगानी जुटाउन नसक्दा निर्माणमा अन्योल देखिएको छ। सरकारले तुलनात्मक रुपमा निकै सस्तो पर्ने यो ९९.८ मेगावाटको आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखे पनि लगानी जुटाउन नसक्दा कामले गति लिन सकेको छैन।

नेपाल विद्युत् प्राधिकरणले यो आयोजना ४९ प्रतिशत सर्वसाधारणको सेयर सुनिश्चित गरेर निर्माण गर्ने बताउँदै आएको छ। प्राधिकरणले स्वदेशी वित्तीय संस्था र अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियत ऋण रहने वित्तीय व्यवस्थापनमा निर्माण अघि बढाइने जनाएको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले स्वदेशी र विदेशी साझेदारसँग सहुलियत ऋण र अनुदान लिएर आयोजना अघि बढाइने बताए। ‘तामाकोसी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रक्रिया अघि बढाइरहेका छौं,’ उनले भने, ‘विदेशी साझेदार कम्पनीसँग बारम्बार छलफल गरिरहेका छौं। अबको केही समयभित्रै टुंगो लगाएर निर्माण कार्य अघि बढाउने छौं।’

४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको विद्युत्गृहबाट निस्केको पानीलाई आठ किलोमिटर भूमिगत सुरुङमार्फत सुरी दोभान पु-याएर बिजुली निकालिनेछ। तामाकोसी ५ जलविद्युत् आयोजनाका प्रमुख नसिवमान प्रधानले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भइसकेको बताए। ‘आयोजनाको प्राविधिक काम लगभग सम्पन्न भइसक्यो,’ उनले भने, ‘अब लगानीको जोहो गरेर छिट्टै निर्माण प्रक्रिया थाल्नेछौं।’

उनका अनुसार आयोजना निर्माणको लागि अन्तर्राष्ट्रिय दाताको खोजी भइरहेको छ। ‘चिनियाँ कम्पनी निर्माण गर्न इच्छुक देखिएको छ,’ उनले भने, ‘अर्थ मन्त्रालयमार्फत दातृ निकायसँग सम्पर्क भइरहेको छ।’ यो आयोजनामा २५–२५ मेगावाटको चारवटा युनिटमार्फत बिजुली उत्पादन गरिनेछ।

आयोजना निर्माणको लागि करिब १५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। यो आयोजना प्रतिमेगावाट सरदर १५ करोड रुपैयाँमा निर्माण हुन लागेको हो। जब कि अहिले जलविद्युत् आयोजना २० करोडभन्दा कम मूल्यमा निर्माण हुने अवस्था देखिँदैंन। उक्त आयोजनाको लागि ड्याम निर्माण गर्न नपर्ने भएकाले पनि सस्तो पर्न गएको हो। आयोजनाको अनुसार मुआब्जाको वितरणको काम अन्तिम चरणमा पुगेको छ। तामाकोसी ५ आयोजनाबाट उत्पादित बिजुली १७ सय मिटरको सर्किट लाइनमार्फत माथिल्लो तामाकोसीको सबस्टेसनमा जडान गरिनेछ। सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ९९.८ मेगावाटको  तामाकोसी ५ जलविद्युत् आयोजना, १०६० मेगावाटको माथिल्लो अरुण, आयोजनामा ४९ प्रतिशत साधारण सेयर सर्वसाधारणको सुनिश्चित बनाई स्वेदशी वित्तीय संस्था र अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सुहलियतपूर्ण ऋण रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण गर्ने जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७६ ०२:१३ मंगलबार

तामाकोसी जलविद्युत्_आयोजना