अर्थ

तातोपानीबाट एक साता आयात रोकिने

भूकम्पपछि चार वर्ष बन्द भएको तातोपानी नाका गत जेठ १५ गते औपचारिक रुपमा सञ्चालनमा ल्याइँदै। फाइल तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – चिनियाँ क्षेत्रमा बिग्रिएको सडक मर्मत थालिएपछि उत्तरको मुख्य तातोपानी नाकाबाट हुने आयात व्यापार दुई दिनेदेखि रोकिएको छ। चीनले खासा बजार क्षेत्रमा चर्किएको सडक मर्मत थालेपछि शनिबारदेखि आयात रोकिएको हो।

चिनियाँ अधिकारीले सडक मर्मत गर्न एक साता लाग्ने र त्यतिञ्जेल कारोबार रोकिने जानकारी पठाएको तातोपानी सुक्खा बन्दरगाहका भन्सार अधिकृत केशवराज ओलीले बताए। ‘सामग्री आउन छोडेपछि भन्सार कारोबार पनि ठप्प छ,’ उनले नागरिकसँग भने। उनका अनुसार बर्खामा चर्किएको सडक चीनले अहिले मर्मत थालेको हो।

योसँगै चीन जोड्ने उत्तरका प्रमुख दुवै नाका बन्द हुन पुगेका छन्। बर्खाले पहिरो निम्त्याउँदा सडक अवरुद्ध हुन गई उत्तरको अर्को रसुवागढी नाका दुई सातादेखि बन्द छ। रसुवाको राम्चे क्षेत्रमा पहिरो गइ सडक अवरुद्ध हुँदा आयात/निर्यात व्यापार ठप्प हुँदै आएको छ। भूकम्पपछि तातोपानी नाकाबाट हुने कारोबार स्थान रसुवागढीले लिँदै आएको छ। दसैंको मुखमा आयात बन्द हुँदा नेपाली व्यापारी मारमा परेका छन्। चाडबाड लक्षित सामग्री भित्रिरहेका बेला दुवै नाका बन्द भएका हुन्।

रसुवागढी बन्द भएपछि त्यहाँका व्यापारी तातोपानी सरेका थिए। सोही कारण पछिल्लो एक साता तातोपानी नाकाको कारोबार र चहलपहलमा ह्वात्तै वृद्धि आएको थियो। एकै दिन ४० कन्टेनरसम्म सामग्री लिन खासा गएको तथ्यांक छ। भूकम्पपछि चार वर्ष बन्द रहेको तातोपानी नाका गत जेठ १५ देखि सञ्चालनमा आएको थियो। नाका व्यापार क्रमशः वृद्धि भइरहेका बेला आयात रोकिएको हो। नाकाबाट स्याउ, तयारी पोशाकलगायत चाडबाडलक्षित सामग्री भित्रन थालेका थिए।

अगाडि नै आएका सामग्री जाँचबाट सुक्खा बन्दरगाह भन्सारले शनिबार ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। ‘व्यापारी आकर्षित भइरहेका बेला दसैंको मुखमा नाका बन्द हुँदा असर पुग्छ,’ भन्सार अधिकृत ओलीले भने। रसुवागढीका व्यापारी तातोपानी आउँदा असोजको चार दिनमै भन्सारले साढे दुई करोड रुपैयाँ राजस्व संकलन गरेको उनले जानकारी दिए।

सञ्चालनको १५ दिनपपछि असार पहिलो सातादेखि तातोपानी नाकाबाट आयात व्यापार सुरु भएको थियो। त्यसपछि व्यापारमा क्रमिक सुधार आउँदा भन्सारले साउनयता मात्रै १० करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ। भदौमा भन्सारले पाँच करोड रुपैयाँ राजस्व असुलेको थियो। बर्खाको मौसम, सामग्री ढुवानी गर्ने ट्रान्सपोर्टेसन कम्पनीको अभाव र आवत–जावतमा समस्या हुँदा तातोपानीबाट व्यवसायीले पर्याप्त सामग्री हाल्न सकेका छैनन्। सिल्क ट्रान्सपोर्टेसन नामक कम्पनी मात्र अहिले नाकामा सामग्री ढुवानीमा संलग्न छ।

सिल्कले चिनियाँ सहरदेखि राजधानी काठमाठौंसम्म कन्टेनरमा सामग्री ल्याउँछ। यसअघि नेपाली कन्टेनरले खासा–काठमाडौं सामग्री ढुवानी गर्थे। सिल्कले आफ्नै कन्टेनरमा चिनियाँ सहरदेखि काठमाडौंसम्म सामग्री ढुवानी गर्दा र व्यवसायीले पर्याप्त सामान अर्डर नगर्दा पुराना कन्टेनरले अझै काम पाउन सकेका छैनन्। भूकम्पअघि साना, ठूला, मझौला गरी झण्डै हजार ट्रक, कन्टेनर चिनियाँ सामाग्री ढुवानीमा संलग्न थिए।

मालबाहक ढुवानी साधन मात्र आवत–जावत गर्ने शर्तमा नाका सञ्चालनमा ल्याइएको हो। खासा क्षेत्रमा मान्छे आवागमनमा अझै रोक लगाइएको छ। कन्टेनरका चालक, सहयोगी र सामग्री लोड गर्ने भरियालाई मात्र प्रवेश पासका आधारमा तिब्बत क्षेत्र जान अनुमति छ। अध्यागमन कार्यालय कोदारीले उनीहरुलाई एकवर्षे प्रवेश पास जारी गर्दै आएको छ। हालसम्म दुई सय चालक, सहयोगी र ३० भरियाले प्रवेश पास लिएको अध्यागमन प्रमुख रामचन्द्र काफ्लेले बताए।

उनका अनुसार सिन्धुपाल्चोकवासीले मात्र प्रवेश पास पाउँछन्। यो पासका आधारमा तिब्बतको ३० किलोमिटर दूरी क्षेत्रमा पुग्न सकिने भए पनि चिनियाँ पक्षले हाल खासासम्म मात्र जान दिएको छ। ‘खासामा बस्ने अनुमति अझै छैन। मजदुर बिहान खासा पुगेर बेलुका नेपाली भू–भागमै फर्कनु पर्छ,’ काफ्लेले भने। चिनियाँले सडक मर्मत थाल्नुअघि नाकाबाट सातामा झण्डै २० कन्टेनर सामाग्री आयात हुन थालेको थियो।

प्रकाशित: ६ आश्विन २०७६ ०१:४२ सोमबार

तातोपानी_नाका आयात