अर्थ

दसैं आयाे टालटुल सुरू

त्रिभुवन राजपथको नौबिसे–नागढुंगा सडकखण्डका खाल्डाखुल्डी पुरेर कालोपत्रे गरिँदै। तस्बिर : सरिता/नागरिक

धादिङ – दसैं–तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने पर्व मनाउन पुख्र्यौली घर फर्कन हतारो छ। राजधानी काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड वर्षौंदेखि जीर्ण छ। जीर्ण सडक हरेक चाडपर्वलाई लक्षित गर्दै हतार–हतारमा टालटुल गरेर चिटिक्क बनाइन्छ, जुन धेरै समय टिक्दैन।

हतार–हतारमा यो सडक टालटुल गर्ने क्रम यस वर्ष पनि दोहोरिएको छ। बिग्रिएको यो सडक हतार–हतारमा कालोपत्रे हालेर टालटुल गरिँदैछ। नोबिसै भएर काठमाडौं पस्ने देब्रे लेन ठाउँठाउँमा खाडल पर्दा निकै जीर्ण छ। मालवाहक हेभी गाडी यही लेन भएर काठमाडौं छिर्छन्। हेभी गाडीको चाप थेग्न नसकेपछि सडकको यो लेन ठाउँठाउँमा धसिँदा खाल्डा बनेका हुन्।

चाँडचाँडै बिग्रिने यो सडकखण्डलाई अन्य समयमा बेवास्ता गरे पनि दसैं–तिहारका बेला भने टालटुल गरिन्छ। टालटुल गर्ने प्रचलन नौलो होइन। गत वर्ष पनि दसैं आउनुपूर्व खाल्डाखुल्डी पुरिएको थियो। यो वर्ष पनि त्यस्तै भइरहेको छ।

सडक ठाउँठाउँमा खाल्डाखुल्डीमात्रै नभएर कुलोजस्तै बनेको छ। पानी परेका बेला सवारीसाधन फस्ने गरेका छन्। उकालो बाटोमा बढी भार लिएर राजधानी प्रवेश गर्ने गाडी बिग्रिएपछि लामो समयसम्म जाम हुने गरेको छ। साँघुरो बाटो भएकाले एम्बुलेन्ससमेत जाममा पर्ने गरेका छन्। धादिङको नौबिसेदेखि काठमाडौंको नागढुङ्गासम्मकै सडक बिग्रिएर कहालीलाग्दो अवस्था छ। तर बढी खाल्डाखुल्डी भएको ठाउँ पुरेर टालटुले पाराले कालोपत्रे हालिएको छ। सानासाना खाल्डामा सरोकारवाला निकायको ध्यान अझै जान सकेको छैन। सवारीसाधन रोकेर सडक मर्मत गर्दा पट्यारलाग्दो जाम हुन्छ। जीर्ण सडक र जामले आधा घण्टामा पार गर्न सकिने नागढुंगा–नौबिसे खण्ड छिचोल्न दिनभरिजस्तो लाग्न थालेको छ।

उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोेकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम हुने गरेको छ। जीर्ण सडकमा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता भएको धादिङका विवेक सापकोटाले बताए। ‘दैनिक हजारौं सवारीसाधन चल्ने यो सडकको अवस्था कमजोर छ,’ उनले भने, ‘नेपालको सबैभन्दा पुरानो राजमार्गको यो खण्ड स्तरोन्नतिमा सरकारको ध्यान जान सकेको छैन।’ नौबिसे–नागढुंगा खण्ड त्रिभुवन राजपथमा पर्छ।

त्रिभुवन राजपथको भारवहन क्षमता दस टनबराबर छ। तर १५ देखि ४० टनसम्म भार बोकेका गाडी यो सडक भएर काडमाडौं छिर्छन्। यसै कारण देब्रे लेनमा बढी असर परेको हो। रातको समयमा चल्ने टिपरले पानी चुहाउँदै बालुवा बोक्ने भएकाले पनि सडक बिग्रने समस्या झनै बढेको हो।

गत असारभित्र सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मत काम अझैसम्म नसकिँदा दसैं–तिहारमा राजधानी भित्रिने र बाहिरिने यात्रुलाई समस्या भएको छ। मर्मत नसकिएकाले हतार–हतारमा टालटुल गर्न थालिएको हो। नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा चितवनस्थित जिअएमआर कन्स्ट्रक्सनले पाएको छ। चाडपर्वमा नागरिकका गुनासो बढ्न थालेपछि बाँध्य भएर खाल्डाखुल्डीमा कालोपत्रे हाल्न थालिएको हो। बढी जाम हुने पीपलामोड, झ्याप्लेखोला, टायलघरलगायतका मोडका खाल्डाखुल्डी टालिएको छ।

चितवनस्थित सडक डिभिजन कार्यालयका प्रमुख कृष्ण अधिकारीले यात्रुलाई असर नपर्ने गरी गरी मर्मत थालिएको भने पनि यात्रु घण्टौं जाममा बस्नुपरेको छ। नौबिसे–नागढुंगा खण्डमा हुने सवारी जाम व्यवस्थापन गर्न प्रहरीलाई पनि हम्मे हम्मे पर्न थालेको छ। ‘सवारीसाधनलाई असहज नहुने गरी ठेकेदारलाई परिचालन गरेका छौं,’ अधिकारीले भने, ‘यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पु-याउन सडक मर्मतको कार्य छिटो सकाउनेछौं।’

दसैं–तिहारमा दैनिक १२ हजार सवारीसाधन र मालवाहक गाडी राजधानी भित्रिन्छन्। दैनिक १८ हजार बढी सानाठूला सवारीसाधन राजधानीबाट बाहिरिन्छन्। तीमध्ये ७ सयभन्दा बढी १८ देखि २२ चक्केसम्मका भारतीय मालवाहक गाडी हुन्छन्।

प्रकाशित: ६ आश्विन २०७६ ०१:०५ सोमबार

दसैं–तिहार सडक टालटुल_सुरू