अर्थ

तीन महिना छँदा बल्ल प्रवर्द्धन अभियान

पाेखरा। तस्बिरः नागरिक

पोखरा – १५ लाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ घोषणा ग-यो। तर, सन् २०१९ सकिन झण्डै साढे तीन महिना मात्र बाँकी छँदा प्रदेश सरकारले बल्ल प्रवद्र्धनात्मक कार्यक्रमको तयारी थालेको छ।

पर्यटन व्यवसायीले भने प्रदेश सरकारको प्रवद्र्धनात्मक कार्यक्रमले तत्काल सकारात्मक प्रभाव नपार्ने बताएका छन्। प्रदेश सरकारले आफैंले घोषणा गरेको कार्यक्रम आफैंले तोकेको समयमा कार्यान्वयन गर्न नसकेको व्यवसायीको भनाइ छ। तोकेको समयका कार्यक्रम गर्न नसक्दा प्रदेश सरकार आफ्नै कार्यक्रममा असफल भएको उनीहरुले बताए।

प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष सफल बनाउने भन्दै असोज ९ देखि १६ गतेसम्म देशका विभिन्न भागमा प्रवद्र्धनात्मक अभियान लिएर जान थालेको बिहीबार आयोजित पत्रकार भेटघाटमार्फत प्रदेशको पर्यटन मन्त्रालयले योजना सार्वजनिक गरेको छ। प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले केही ढिलाइ भए पनि पर्यटनमा सकारात्मक माहोल सिर्जना गर्नका लागि प्रवद्र्धनात्मक गतिविधि गर्न थालेको बताए।

‘हामीले झारा टार्नका लागि यो कार्यक्रम गर्न थालेका होईनौं, तोकिएको समयमा कार्यक्रम नभएको हो। तर, तयारी गर्दैगर्दा केही ढिलाइ भएको हो,’ लम्सालले भने, ‘प्रदेश सरकारको कार्यक्रम भएकाले यो अभियानले सन् २०१९ लाई मात्र नभई आगामी वर्षलाई पनि सघाउनेछ।’ प्रदेश सरकारले सन् २०२० मा छिमेकी मुलुक पर्यटक आकर्षण वर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष मनाउने गरी घोषणा गरेको छ।

‘अहिलेको प्रवद्र्धनात्मक कार्यक्रमले २०१९ लाई मात्र नभई सन् २०२२ सम्मका सबै गतिविधिलाई सघाउने हो,’ उनले भने, ‘सन् २०१९ का लागि ढिला भएको हो। तर आगामी वर्षका लागि यसले प्रभाव पार्नेछ।’ गण्डकी प्रदेशको यो अभियान प्रदेश ५ बाट सुरु हुने मन्त्री लम्सालले बताए। उनका अनुसार प्रदेश ५ को मणिग्राम, प्रदेश २ को वीरगन्ज, प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौंमा कार्यक्रम विशेष कार्यक्रम हुनेछ।

अभियानका क्रममा दुई प्रदेशका सरकारबीच व्यावसायिक छलफल, प्रदेश सरकार र व्यवसायीबीच छलफल, व्यापारीबीच अनुभव साटासाट गर्ने लगायत कार्यक्रम हुनेछन्। त्यस्तै फोटो प्रदर्शनी, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम पनि त्यही बेला आयोजना गरिने मन्त्री लम्सालले बताए। अभियानका क्रममा पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौंडा, धनुषाको जनकपुर, सुनसरीको धरान र झापाको विर्तामोडमा पनि कार्यक्रम गरिने मन्त्रालयले बताएको छ।

‘प्रदेश सरकार र निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानबीच व्यावसायिक भेटघाट, अनुभव आदानप्रदानले पनि पर्यटनमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने। उनका अनुसार प्रवद्र्धन अभियानका क्रममा प्रदेशका मुख्यमन्त्रीलाई गण्डकी प्रदेश घुम्न बोलाउँदै चुले निम्तो दिने तयारीसमेत भएको छ। ‘अरु प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीलाई गण्डकी प्रदेश घुम्न आउनु भन्दै चुले निम्तो दिनेछौं,’ उनले भने, ‘त्यसको प्रभाव अरु आन्तरिक पर्यटनमा पनि पर्नेछ।’ उनले चाँडबाँडका बेलामा पोखरालगायत क्षेत्रमा स्वतः आन्तरिक पाहुना आउने भए पनि यो अभियानले अरु थप पाहुनालाई प्रदेशमा तान्न सघाउने बताए। ‘हामी पाहुना बोलाउन जाने हो। अहिले गरेको प्रवद्र्धनले २०२२ लाई समेत सघाउनेछ,’ उनले भने।

प्रवद्र्धनमा जान थालेको टोलीले पोखराका पर्यटकीय प्रडक्टको छुटसहितको प्याकेज पनि लिएर जान थालेको मन्त्री लम्सालले बताए। उनका अनुसार होटलमा १५, रेस्टुरेन्टमा १०, साहसिक गतिविधिमा १०, यातायातमा १५, पदयात्रामा १० प्रतिशत छुट पनि दिइने उनले बताए। ‘हामीले आन्तरिक पर्यटक उकास्न यो प्रयास गरेका हौं,’ उनले भने, ‘प्रदेशभित्रका ११ जिल्लाकै फरक फरक प्याकेज बनाएर आन्तरिक पाहुनालाई उपलब्ध गराउने योजना छ।’ यो अभियान चलाउँदा झण्डै ३६ लाख रुपैयाँ खर्च हुने उनले बताए।

गण्डकी प्रदेशमा आन्तरिक पाहुना आउन चाहे पनि कनेक्टिभिटी सारै कमजोर रहेको उनले बताए। ‘आन्तरिक हवाई सेवा निकै कमजोर छ। स्थलमार्ग पनि सुधार हुन सकेको छैन,’ उनले भने, ‘पूर्वाधार हुने र सहज आउजाउ हुने हो भने यस्ता अभियान स्वतः सफल हुन्छन।’ आन्तरिक पर्यटकको गतिविधि बढाउनकै लागि पोखरादेखि सिमरा र विराटनगरसम्म सिधा हवाई उडान सञ्चालन गर्ने योजना पनि बनाएको मन्त्री लम्सालले जानकारी दिए।

पोखराका पर्यटन व्यवसायीले भने प्रदेश सरकार आफैंले ल्याएका कार्यक्रम गर्न नसक्नु कमजोरी रहेको बताउँछन्। योजना ल्याउने तर, कार्यान्वयन पक्ष निकै नै विलम्ब गर्ने व्यवसायीको भनाइ छ। ‘सन् २०१९ कै लागि हामीले यसअघि नै प्रदेश सरकारलाई आन्तरिक भ्रमण वर्षका कार्यक्रम गर्न झक्झकाएका हौं। तर, प्रदेश सरकारले योजना नै बनाउन सकेन,’ पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटाले भने, ‘सन् २०१९ सकिन तीन महिना बाँकी छँदा बल्ल कार्यक्रम गर्ने तयारी छ। केही नहुनुभन्दा यतिबेलाको अभियान पनि राम्रै हो। तर, आफैंले घोषणा गरेको अभियान सफल बनाउन भने यो अभियानले उत्तिसारो सघाउँदैन।’

चाँडबाँडको बेला परेकाले यतिखेर सबैभन्दा बढी आन्तरिक पाहुना घुम्न निस्कन्छन्। यही समय पारेर प्रवद्र्धनात्मक कार्यक्रम गर्दा सकारात्मक प्रभाव देखिने भए पनि यसको वास्तविक परिणाम आगामी वर्ष मात्र देखिने उनले बताए। ‘सन् २०१९ लाई यसले सफल बनाउँदैन, बरु सन् २०२० मा आन्तरिक पर्यटन भित्र्याउन यो अभियान सहयोगी हुन्छ,’ सापकोटाले भने, ‘प्रदेश सरकारबीच द्विपक्षीय छलफल हुने भएकाले केही सकारात्मक रुपमा त लिनै पर्छ। ढिला त निकै नै भएको हो। प्रदेश सरकारले आफूले घोषणा गरेको कार्यक्रम समयमा गर्न नसक्नु कमजोरी हो।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष चिरञ्जीवी पोखरेलले प्रदेश सरकारले केही नगरेको अवस्थामा यत्तिको तयारीलाई पनि सकारात्मक लिनुपर्ने बताए। ‘चाँडबाँडको बेला भएकाले यसले केही सन्देश दिन सक्छ। आन्तरिक पाहुनालाई एकपटक पोखरा सम्झाउँछ,’ पोखरेलले भने, ‘पर्यटनमा यसले पक्का सकारात्मक प्रभाव त पार्छ। तर, आफैंले घोषणा गरेको कार्यक्रमलाई सफल बनाउँदैन।’ ढिलागरी भए पनि यो कार्यक्रम गर्दा निजी क्षेत्रलाई नै फाइदा पुग्ने उनले बताए।

प्रकाशित: ३ आश्विन २०७६ ०१:१३ शुक्रबार

आन्तरिक_पर्यटन