अर्थ

यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन

ताप्लेजुङ-ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन। वर्षामा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो।

मौसम खुलेसँगै उडान गर्न सकिने भए पनि पछिल्लो पटक यात्रु नभएकाले उडान नभएको नेपाल वायुसेवा निगमका स्टेशन प्रमुख राजु कार्कीले बताए।

‘असार, साउनमा मौसम खराबीले नियमित उडान भएन, अहिले उडानका लागि मौसम अनुकूल भए पनि एक–दुईजना यात्रु आउने गर्छन, कम्तीमा ६/७ जनासम्म नहुँदा घाटा बेहोर्नु पर्छ’, उनले भने। 

यद्यपि चार/पाँचजना सम्म यात्रु पाए घाटा बेहोरेर भएपनि उडान शुरु गर्ने मनस्थितिमा निगम रहेको उनले बताए। सुकेटार विमानस्थलमा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ काठमाडौँ उडान गर्ने नियमित कार्यतालिका छ ।

यता निगमले विभिन्न कारण देखाउँदै नियमित उडान नगरेकाले भरपर्दो हुन नसकेको स्थानीयवासीको भनाइ छ। पटक–पटक टिकट काटेर विमानस्थलबाटै फर्कनुपर्ने बाध्यता रहँदै आएको भन्दै स्थानीयवासीले गाडी नै चढ्ने गरेका छन् । यो वर्ष असार ४ यता उडान हुन सकेको छैन । रासस

प्रकाशित: २ आश्विन २०७६ ०८:३१ बिहीबार

सुकेटार_विमानस्थल नेपाल_वायुसेवा_निगम घाटा