अर्थ

‘भट्टराईका कारण २४ मिनेट ढिला’

काठमाडौं – शनिबार साँझ नेपालगन्जबाट काठमाडौं आउन लागेको जहाज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका २४ मिनेट ढिलो भएको बुद्ध एयरले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई घटनाबारे सत्यतथ्य जानकारी गराउन कम्पनीले लेखेकोे पत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका सहयोगीले ६ः२५ तिर नेपालगन्जस्थित नागरिक उड्डयन प्राधिकरणका प्रमुखमार्फत फोन गरेर धम्बोजी आइपुगेको जानकारी गराएपछि उनी आइपुग्ने आशयमा एयरपोर्टका कर्मचारीले यात्रुलाई ६ः३० मा विमानमा बोर्डिङ गराएको तर मन्त्रीको टिम फोनमा जानकारी गराएभन्दा केही ढिला एयरपोर्ट प्रवेश गरेको उल्लेख छ।

मन्त्री एयरपोर्ट प्रवेश गर्नुअघि नै सुरक्षाकर्मीकै अगाडि १४/१५ जनाको समूह विमान परिचारिकाहरुले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोशित भई विमानबाट ६ः४० तिर बाहिर निस्किएर ६ देखि ८ मिनेटसम्म विमानका कर्मचारीसँग विवाद गरेको जनाइएको छ।

मन्त्री भट्टराई ६ः५० मा एयरपोर्ट आउँदा उत्तेजित समूहले उनीतिरै फर्केर ‘तपाईं किन ढिला आउनुभएको, तपाईंका कारण हामी सबैले कुर्नुपर्ने हो’ भनी झन् आक्रोशित हुन थालेपछि मन्त्री चुपचाप विमानभित्र चढेको पनि पत्रमा उल्लेख छ।

त्यो समूह पनि मन्त्रीसँगै विमानमा चढेर एकैठाउँमा जम्मा भई पाँच मिनेटसम्म आक्रोश पोखेको र एक भागमा मात्र धेरै तौलका कारण विमान नै ढल्किएको बुद्ध एयरले जनाएको छ।

उक्त विमान नेपालगन्जबाट ७ बजेर ४ मिनेटमा उडेको कम्पनीले जनाएको छ। उक्त घटनामा मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमका कारण आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको पनि पत्रमा उल्लेख छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०३:०५ मंगलबार

बुद्ध_एयर योगेश_भट्टराई