अर्थ

खुम्बुमा सयौं पर्यटक अलपत्र

सोलुखुम्बु – मौसम प्रतिकूलताका कारण खुम्बु पासाङल्हामू गाउँपालिका–२, लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटक अलपत्र परेका छन्।

पिक सिजनमा खुम्बु क्षेत्र भ्रमण सकेर आएका करिब तीन सय पर्यटक उडानको पर्खाइमा रहेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। प्राधिकरणका प्रमुख इमनाथ अधिकारीले तीन दिनदेखि कुनै पनि उडान नभएको बताए। उनले भने, ‘हेलिकप्टरको समेत उडान रोकिएको छ। बाक्लो कुहिरो र पानीले गर्दा मौसम प्रतिकूल बनेको छ। भ्रमण सकेर राजधानी फर्कने सयौं पर्यटक लुक्लामै रोकिएका छन्।’

केही पर्यटक सल्लेरीसम्मको पैदल यात्रा तय गरे पनि त्यो संख्या निकै कम रहेको अधिकारीको भनाइ छ। यो सिजनमा हजारौं पर्यटक खुम्बु भ्रमणका लागि आउने गर्छन्। मौसम प्रतिकूलताले उडान प्रभावित हुँदा पर्यटक आवागमन समेत घटेको छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०१:३४ मंगलबार

मौसम_प्रतिकूल पर्यटक_अलपत्र