अर्थ

नेपालमा लगानी गर्छौं : जापानी व्यवसायी

काठमाडौं – प्रत्यक्ष वैदेशिक लगानी बढ्न नसकेका बेला जापानका उद्योगी–व्यवसायीले नेपालमा कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भनेर चासो  देखाएका छन्।

दुई तिहाइको बलियो सरकार बनेर लगानीको वातावरण बनेको भने पनि गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी बढ्न सकेको छैन। स्वदेशी र विदेशी दुवै लगानीकर्ताको मनोबल उच्च नभएकै बेला जापानी उद्योगी–व्यवसायीले लगानीका क्षेत्रबारे सोधखोज गरेका छन्।

राजधानीमा आइतबार आयोजित ‘नयाँ टेक्नोलोजीको साथ नेपालमा वैदेशिक लगानीको अवधारणा’ विषयक अन्तक्र्रियामा जापानी लगानीकर्ताले यहाँको लगानीको सम्भाव्य क्षेत्रबारे निकै चासो राखे। उनीहरुले लगानी सम्भावनाका क्षेत्र, प्रतिफलको अवस्था, सरकारको नीतिलगायत विषयमा चासो देखाएका थिए।

नेपालमा लगानी गरेपछिको प्रतिफल र त्यसलाई सजिलै लैजान सक्ने वातावरण भए, नभएकामा उनीहरुको विशेष चासो थियो। जापानको जी होल्डिङ लिमिटेडका उद्योगीहरुले लगानीको सम्भाव्यता अध्ययन गर्न आफूहरु इच्छुक भएको बताए।

जापानी उद्योगी टोलीका सदस्यहरुले आफूहरुले जापान र अन्य मुलुकमा गरेको अन्वेषण र प्रविधिबारे जानकारी गराएका थिए। उद्योगीमध्येका एक मासाकी हिराईले आफू नवीकरणीय ऊर्जासँग सम्बन्धित क्षेत्रमा काम गर्न तयार रहेको बताए।

उनले आफूहरु अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको दौडमा मिसिनभन्दा पनि नेपालको विकासमा संवेदनशील भएर लगानी गर्न अगाडि सरेको बताए।

हिराईले विकास गर्दा प्राकृतिक संरचनालाई दखल पु-याउनेभन्दा पनि प्रकृतिसँग मिलेर विकास गर्न सकिनेमा जोड दिए। उनले नेपाल सरकारले सहयोग गरे आफूले सोलार पावर प्रयोग गरी हावाबाट पिउने पानी, प्लास्टिकबाट तेल र ठोस फोहरबाट सेरामिक्स बनाउन सकिने परियोजना तत्काल अगाडि बढाउन सक्ने जानकारी दिए।

पर्यटन संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले अहिले स्थिर सरकार रहेकाले इतिहासमै लगानीको अनुकूल वातावरण बनेको दाबी गरे। ‘नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा हेर्ने दृष्टिकोण समेत सकारात्मक भएको र नेपालले आत्मविश्वाससमेत बढाएको छ,’ मन्त्री भट्टराईले भने, ‘हामीमा श्रमशक्तिको रुपमा १५ देखि ६० वर्षबीचको जनसंख्या ५७ प्रतिशत छ, यो सबैभन्दा राम्रो अवसर हो।’

उनले पर्यटनको क्षेत्रसमेत लगानीको लागि उपयुक्त हो भन्दै ठूला विमानस्थल निर्माण, त्यसको सञ्चालन र व्यवस्थापन लगायतमा लगानी गर्न सकिने बताए। ‘विश्व स्तरमा पर्यटनको विकास १० प्रतिशत भएको अवस्थामा नेपालको वार्षिक पर्यटक आगमन २५ प्रतिशतले बढेको छ,’ मन्त्री भट्टराईले भने, ‘यसले पर्यटनको क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल दिन सक्ने देखाउँछ।’

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले ओसाकामा सिधा उडान सुरु गरेको र छिट्टै नागोयामा पनि सिधा उडान गर्ने योजना बनाएको मन्त्री भट्टराईले बताए।

पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले रेलमार्ग, पर्यटन, ऊर्जा, पूर्वाधार विकास, कृषि लगायत क्षेत्रमा लगानी गर्न उद्योगीलाई आग्रह गरे। उनले जापानले सन् १९५४ देखि गर्दै आएको नियमित सहयोग, शान्ति, प्रजातन्त्र, पूर्वाधार निर्माण साथै महाभूकम्प पछाडिको पुनः निर्माणमा गरेको सहयोगको प्रसंसा गरे।

लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीले दुई देशको मात्र नभएर दुई देशका नागरिकको सम्बन्ध विस्तारमा समेत सघाउ पुग्ने बताए। उनले गत वर्ष भएको लागानी सम्मेलनमा धेरै जापानी कम्पनीले काम गर्न इच्छा देखाएको र केहीले काम गर्न सुरु गरेको बताए।

गैरआवासीइ नेपाली संघ जापानका राजन पौडेलले जापानी लगानीकर्ताले अफ्रिकी तथा अन्य एसियाली मुलुकमा गरेको लोभलाग्दो लगानीको अवस्था आफूले देखेकोले अब त्यस्तो मौका नेपालले चुकाउन नहुने बताए। जापानी उद्योगीलाई नेपाल ल्याउने कामको संयोजन समेत गरेका पौडेलले जापानी लगानीकर्ता लगानीको जुनसुकै विकल्पका लागि तयार रहेको आफूले बुझेको बताए।

प्रकाशित: ३० भाद्र २०७६ ०१:४८ सोमबार

नेपाल लगानी जापानी व्यवसायी