अर्थ

अपांगताको वैशाखी बन्यो कृषि

सिन्धुपाल्चोक – २००८ सालमा जन्मिएका गुमानध्वज तामाङ इन्द्रावती गाउँपालिका–४ स्थित पाडामरुवा तल्लो गाउँमा बस्छन्। उनी सारसौँधै थिए। तर २०७२ को भूकम्पले धेरैको घरमात्र भत्काए पनि उनको भने झण्डै ज्यानै लिएन। ‘घर भत्कँदा हरमुन्तिर पूरै थिच्यो। झण्डै मरिनँ। तर पनि अपांग भएर बाँच्नुपरेको छ,’ खोच्याउँदै बल्लतल्ल हिँड्ने गुमानध्वजले पीडा सुनाए।

हुन त उनको र भाइको गरेर चार रोपनी खेत र आठ रोपनी जति बारी छ। तर भिर पाखो न प¥यो, के पुग्थ्यो र खान। बल्लतल्ल चार महिना पुग्छ आफ्नै उत्पादनले। त्यसमाथि पनि अपांग भएपछि गुमानध्वजले खेती गर्न सक्ने कुरै भएन। त्यसैले उनलाई पनि लाग्थ्यो रे– काम गर्न सकिन्न अब भोकै मरिन्छ कि क्या हो ?

गुमानध्वज जब गाउँमा भूकम्प प्रभावितलाई सहयोग गरिरहेको प्रयास दोस्रो परियोजनाको सहजीकरणमा गठित छलफल केन्द्रमा जान थाले, धेरै कुरा सिक्ने अवसर पाए। आफूमात्र पीडामा परेको ठान्ने गुमानध्वज त्यहाँ जान थालेपछि बल्ल थाहा पाए कि उनीभन्दा बढी पीडामा परेका मानिस पनि उनकै गाउँठाउँमा रहेछन्। अनि धेरैका कुरा सुनेपछि बुझे– पीडा गुम्साएर राख्न नहुने रहेछ, यसलाई त ऊर्जामा बदल्नुपर्ने रहेछ। अर्थात केही गर्नुपर्ने रहेछ जीवनमा।

‘त्यसपछि मैले युरोपियन कमिसनको नागरिक संरक्षण तथा मानवीय सहायता विभागको सहयोगमा केयर र सिएसआरसीले कार्यान्वयनमा ल्याएका प्रयासकै सहयोगमा हुने तरकारी खेती गर्न रुचि देखाएँ। छलफल कक्षामा यसबारे निकै बहस पनि भयो। धेरै सहभागीले म अपाङ्गता भएको व्यक्ति भएकाले गर्न सक्देन भने। केहीले चाहिँ खेती गरिहाले पनि उत्पादन बजार लैजान सक्दैन भने’, गुमानध्वजले थपे– उनीहरूले यसो भनेपछि ममा झन् उत्साह थपियो। अनि तरकारी खेती गरिछाड्ने अठोट छाडिन। किनकि ‘यसले गर्न सक्दैन’ भन्नेलाई ‘म सक्छु’ भनेर देखाउनु थियो।

नभन्दै उनलाई तरकारी खेतीका लागि छनोट गर्न छलफल कक्षा बाध्य भयो। अनि प्रयासले छलफल कक्षाको सिफारिसअनुसार गुमानध्वजलाई सहयोग ग¥यो। जसअनुसार गुमानध्वजले तरकारी खेती, अझ त्यसमा पनि बेमौसमी, करेसाबारी र टनेल खेतीबारे तालिम लिए। तालिम लिएपछि घर फर्कने बेला तरकारी र काँक्रो, गोलभँेडा आदिको बीउ पनि पाए। यी बीउ रोपिसकेपछि बेलाबेलामा घरैमा आएर सेवा प्रदान गर्ने कृषि प्राविधिकको सेवा पनि पाए।

त्यसपछि त के चाहियो र ? गर्नै सक्दैन भनेर कुरा काट्नेहरूलाई छक्कै पार्ने गरी तरकारी फलाइदिए यी वृद्धले। गोलभँेडा र बोडी राम्रैसँग बेचे। ‘यिनीहरू फलिरहने, म बेचिरहने, त्यसैले कति बेचियो भन्न मिल्दैन, फल्न छाडेपछि बल्ल बताउँला,’ उनले खुसी व्यक्त गर्दै भने, ‘बजार लान सक्दैन भन्थे, केको लानुपर्ने रैछ र, फलाउन सके बारीमा आउँदारहेछन् किन्नेहरू। त्यसमाथि लानै परे घरका अरु सदस्यले पनि लगिदिने गरेका छन्।’

अपांगता भएर के गर्नु ? डोको पनि राम्रैसँग बुन्छन् उनी। एउटाको चार सयमा बेच्छन्। दिनमा दुईवटा सजिलै बुन्छन्। यसरी बुनेको डोको बेच्न कहीँ लानै पर्दैन। अर्डर आउँछ घरमै। लिन पनि घरमै आउँछन्। यसबाट पनि उनको आम्दानी राम्रै हुने गरेको छ। गुमानध्वज भन्छन्, ‘मुख्य कुरा अपांगता भएकाले केही गर्न सक्दैन भन्नेलाई मैले गरेर देखाएको छु। अहिले यो कृषि नै मेरा लागि सबैभन्दा गतिलो वैशाखी बन्न पुगेको छ।’

प्रकाशित: २९ भाद्र २०७६ ०३:०३ आइतबार

इन्द्रावती_गाउँपालिका कृषि अपांगता