अर्थ

असोज ५ देखि अग्रिम टिकट

काठमाडौं – दसैंमा काठमाडौंबाहिर जाने यात्रुका लागि असोज ५ बाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। बिहीबार यातायात व्यवस्था विभाग, व्यवसायी र ट्राफिक प्रहरीसमेतको बैठकले उक्त निर्णय गरेको विभागले जनाएको छ।

विभागका अनुसार भाडा दर पुरानै कायम गरिएको छ। यातायात व्यवसायीले भाडा समायोजन गर्न आग्रह गरेका थिए। ‘७० सालदेखि भाडा समायोजन नभएको कुरा सरकारले बुझ्नुपथ्र्यो,’ नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘सरकारले सधैं आश्वासन मात्र दियो, कार्यान्वयन गरेन। हामीले त्यो विषयलाई यात्रु सेवासँग सौदावाजी गर्न चाहेनौं।’

अरुलाई कानुन पालना गर्न लगाउने सरकार आफैं चाहिँ चुकेको सिटौलाले आरोप लगाए। सिटौलाले सेवा दिने मामिलामा यातायात व्यवसायी प्रतिबद्ध रहे भन्दै गामीण भेगमा गाडी जान सक्ने अवस्था नभएकोले तत्काल ग्रामीण सडक सुधार गर्न सरकारसँग आग्रह गरे। अहिलेकै अवस्थामा नयाँ गाडी थप्ने स्थिति नभएकोले जगेडा रहने गाडीलाई पर्याप्त मात्रामा थपेर यात्रुलाई सुविधा दिने सिटौलाले जनाए।

१४ ठाउँमा सहायता कक्ष
दसैं–तिहारको समयमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ।

महाशाखाले काठमाडौं महानगरपालिका, यातायात व्यवसायी, यातायात विभाग लगायत निकायसँगको समन्वयमा नागरिक सहायता कक्ष सञ्चालन गर्न लागेको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। नागरिकको आवतजावत सहज बनाउन बस पार्किङ र यात्रु झर्ने/चढ्ने मुख्य स्थानमा सहायता कक्ष खोल्न लागेको ढकालले बताए।

ढकालका अनुसार चावहिल, बसपार्क, माछापोखरी, कालीमाटी, कलंकी, नागढुंगा, कोटेश्वर, जगाती, लगनखेल, पुरानो बसपार्क लगायत ठाउँमा सहायता कक्ष रहने छन्। ‘सहायता कक्षबाट नागरिकलाई तत्काल आवश्यक पर्ने सहयोग गरिनेछ,’ ढकालले भने ‘नागरिकले सामान्यभन्दा सामान्य समस्यामा पनि सहयोग पाउने वातावरण बनाउँछौं।’

यात्रुका सामान हराउने, गाडी पहिचानमा समस्या पर्ने, गाडीमा हुने दुव्र्यवहार, भाडाका विवाद, अव्यवस्थित रुपमा भिडभाड र जाम हटाउन पनि सहायता कक्षले सहयोग गर्ने उनले बताए।

ढकालले उपत्यकाबाहिर समेत उपत्यकाबाट छुट्ने सवारी साधनको जानकारी उपलब्ध गराउने र बाहिरका जानकारी लिन आवश्यक समन्वय गर्ने बताए। महाशाखाले यसको लागि थप जनशक्ति र तत्काल उद्धार समूह (क्युआरटी) समेत परिचालन गर्ने जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७६ ०२:५२ शुक्रबार

अग्रिम टिकट बुकिङ