अर्थ

रसुवागढी नाकामा मंगलबारदेखि ‘क्यू नम्बर’ अनिवार्य

रसुवा – रसुवागढी नाकामा सवारी चापलाई व्यवस्थापन गर्न ‘क्यू नम्बर’ अनिवार्य गरिने भएको छ। नाकामा सञ्चालन भइरहेका ट्रक कन्टेनर व्यवसायीको सुरक्षा र अवसरको समानुपातिक वितरणका लागि केही समय पहिलेदेखि स्थायी क्यू नम्बर दिइँदै आएको छ। रसुवा यातायात सहकारी संस्थाले सोमबार विज्ञप्ति जारी गर्दै क्यू नम्बरको आधारमा पालैपालो केरुङ जाने व्यवस्था मिलाउन लागिएको जनाएको छ।

यसअघि आ–आफ्नै सम्पर्कमा सामान हालेर ल्याउने, केरुङमा महिनौंसम्म सामग्री नपाएर चर्को मूल्य तिरेर पार्किङ गर्नुपर्ने र त्यहाँ महँगो खाना खाएर बस्दा व्यवसाय धरापमा परेको अध्यक्ष पेम्बा तामाङले बताए।

मंगलबारदेखि नाकामा निकासी तथा पैठारी गर्ने व्यवसायीले आवश्यक संख्यामा गाडीको बुकिङ गरेर टिमुरे क्षेत्रबाटै जिम्मा लिएर जानुपर्ने भएको हो। गाडीले प्रत्येक पटक भन्सार भई टिमुरेबाट काठमाडौं छुट्ने बेलामा आफ्नो प्रज्ञापनपत्र र चलानीको प्रतिलिपि बुझाएर आफ्नो गाडीको टिपको क्यू नम्बर लिनुपर्ने छ। क्यू नआएको गाडीले ट्रिप नपाउने उनको भनाइ छ।

प्रकाशित: २४ भाद्र २०७६ ०१:४३ मंगलबार

रसुवागढी नाका सवारी ‘क्यू_नम्बर’