अर्थ

औद्योगिक पार्कमा चासो

आइतबार भरतपुरमा औद्योगिक पार्कमा लगानीबारे चिनियाँ टोलीसँग छलफल हुँदै। तस्बिर : सविता/नागरिक

चितवन – चिनियाँ लगानीकर्ताले चितवनको शक्तिखोरमा बनाउन लागिएको औद्योगिक पार्कमा लगानी गर्न चासो देखाएका छन्।

कालिका नगरपालिकास्थित शक्तिखोरमा रहेको १७ सय ४१ बिघा जग्गामा पार्क बनाउने चासो चिनियाँ लगानीकर्ताले देखाएका हुन्।  ‘द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेज’को अगुवाइमा चितवन आएको ३७ सदस्यीय टोलीले स्थानीय सरकारसँग अन्तक्र्रिया गर्ने क्रममा लगानीको प्रस्ताव गरेको हो।

औद्योगिक पार्कमा लगानी गर्न इच्छुक रहेको इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजका अध्यक्ष ली सुसेङले बताए। औद्योगिक पार्कको अवधारणा, पार्कको स्थापना, पार्कमा स्थापना गर्न सकिने उद्योगबारे टोलीले जानकारी लिएको लीको भनाइ छ।

उनका अनुसार औद्योगिक पार्क नेपाल र चीन सरकारको संयुक्त प्रयासमा सञ्चालन हुनेछ। यसमा स्थानीय सरकारको समेत सहभागिता र निर्णायक भूमिका भएकाले छलफल गरिएको हो।

लगानी गर्ने वातावरण निर्माणका साथै कानुन निर्माण, कर, कामदार लगायत विषयमा स्पष्ट व्यवस्था गर्न उनले स्थानीय सरकारलाई आग्रह गरे। नेपाली उपभोक्ता र विदेश निर्यात गर्न सकिने उत्पादनबारे पनि टोलीले चासो राखेको छ।

‘शक्तिखोरमा सबै सेवा, सुविधा सहितको औद्योगिक पार्क बन्नेछ,’ उनले भने, ‘दक्षिण एसियाली बजार हेरेर उत्पादनमा प्राथमिकता दिइनेछ।’

लगानीकर्ताले स्थानीय व्यवसायी, बासिन्दा र सरकारसँग सहकार्य गर्ने उनले बताए। यसबाट स्थानीयले रोजगारीसँगै बढीभन्दा बढी फाइदा लिने उनको दाबी छ। लगानीकर्ताको टोलीले शनिबार काठमाडौंमा केन्द्र सरकारका प्रतिनिधि, प्रदेश सरकारका मुख्य मन्त्री, व्यवसायीसँग छलफल गरेका थिए। काठमाडौंको छलफलबाट चितवनमा लगानी गर्न इच्छुक भएपछि टोली चितवन आएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल बताउँछिन्।

टोलीले औद्योगिक पार्क निर्माणस्थलको अवलोकन समेत गरेको छ। औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सकिएको छ। वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अघि बढाएको मेयर दाहाल बताउँछिन्। करिब ३६ अर्ब लगानीमा पार्क बन्नेछ। पार्कमा सात सय उद्योग स्थापना हुने र एक लाख पाँच हजारजनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ।

गत अप्रिलमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणपछि चिनियाँ लगानी भित्र्याउने तयारी भइरहेको पूर्वमन्त्री जनार्दन शर्माले बताए। चिनियाँ सरकार अन्तर्गतको इन्टरप्राइजेजले लगानीकर्तालाई ल्याएर लगानी गर्ने नेतृत्व लिएको उनी बताउँछन्।

औद्योगिक पार्क, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी किनारमा दासढुंगादेखि गोलाघाटसम्म दुईतर्फी पर्यटन मार्ग, नारायणगढमा २० बिघामा निर्माण गरिने अटोल्यान्ड, बहुउद्देश्यीय व्यापारिक भवन निर्माण, माडीमा कृषि उत्पादन प्रशोधन केन्द्र लगायत योजनामा लगानीकर्ता आवश्यक रहेको उनले टोलीलाई जानकारी गराएकी छिन्।

सन् २०२२ सम्ममा पार्क निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। एक लाख पाँच हजारले प्रत्यक्ष रोजगारी पाउने यस औद्योगिक क्षेत्रलाई अहिले औद्योगिक पार्क नाम दिइएको छ। पार्कमा कर्मचारी आवास, अस्पताल, शिक्षालय, हेलिप्याड लगायत पूर्वाधार समेत तयार हुनेछ।

प्रकाशित: २३ भाद्र २०७६ ०३:०६ सोमबार

चिनियाँ लगानीकर्ता औद्योगिक_पार्क